काठमाडौँ । नेपाल सरकार र अमेरिकाको उटाह राज्यको राष्ट्रिय पहरेदार (नेशनल गार्ड) बीच राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) मा सहभागी हुने बारे हतारमा निर्णय नगर्न पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आग्रह गर्नुभएको छ ।
एसपीपीमा सहभागी हुन अमेरिकाले नेपाललाई प्रस्ताव गरेको छ ।
हिमाली क्षेत्रमा नयाँ शीतयुद्धको खतरा रहेको टिप्पणी गर्दै भट्टराईले अमेरिकासँग १० बुँदै स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता हतारमा नगर्न भन्नुभएको हो ।
'यसमा सैनिक गठबन्धनकै हस्को आउॅछ । भूराजनीतिक संवेदनशीलता हेरौँ। १० चोटी नापेर एकचोटी काट्नु जो भनिन्छ ।' भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ ।
एसपीपी कार्यक्रमलाई लिएर सत्तारुढ दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेले प्रश्न गर्दै आएका छन् ।
सार्वजनिक भएका कागजात अनुसार सम्झौता नेपालको रक्षा मन्त्रालय र अमेरिकाको पनि रक्षा मन्त्रालयमार्फत हुने उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९, ०७:५४