काठमाडौँ । सरकारले गरेको तयारीले मूर्त रुप पायो भने अब नेपालमा १८ वर्षलाई विवाहयोग्य उमेर मानिने भएको छ।
१८ वर्षलाई विवाहका लागि मान्यता दिनेगरी कानुन संसोधनको तयारी सरकारको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्द प्रसाद शर्मा (कोइराला) ले विवाहका लागि २० वर्षे प्रावधान सच्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।
विवाहका लागि २० वर्ष उमेर हद राख्दा अपराध बढेको उहाँको दावी थियो । विवाहका लागि २० वर्ष कुर्नु पर्ने अवस्था कुनै पनि ढङ्गबाट उपयुक्त नहुने उहाँको भनाइ थियो ।
‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, विवाह गर्न २० वर्ष कुर्नुपर्छ। यसले बरु अपराध बढाउने काम भइरा'छ। बाल विवाहको सजाय भइरा'छ। त्यसैले यसमा रिभ्यू गर्नुपर्छ र कानुन मन्त्रालयले यसमा रिभ्यु थालिसकेको व्यहोरा म अनुरोध गर्न चाहन्छु।’ मन्त्री शर्माले भन्नुभयो ।
अहिलेको कानुन अनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्न पाइँदैन ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९, १३:२५