काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाली सेना सहभागी नहुने स्पष्ट पार्नु भएको छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै सेनापति शर्माले सञ्चारमाध्यममा जे विषय आए पनि त्यसमा सत्य नभएको दावी गर्नुभयो ।
नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने उहाँको भनाइ थियो ।
सैन्य गठबन्धनसम्बन्धी अमेरिकी अधिकारीहरुलाई यसमा नेपाल सहभागी नहुने बारेमा जानकारी दिइसकेको शर्माले बताउनुभयो ।
शान्ति स्थापनार्थ खटिएका नेपाली टोलीको निरीक्षणका लागि आफू अमेरिका भ्रमणमा जान लागेको प्रधानसेनापति शर्माले जानकारी दिनुभयो ।
अमेरिकालाई तत्कालीन नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतिमा एसपीपी सम्बन्धी पत्र पठाइएको प्रधानसेनापति शर्माले स्वीकार गर्नुभयो ।
पत्रमा सैन्य गठबन्धनका लागि नलेखिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९, १३:३९