काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पुगेका केही व्यक्तिमा हैजाको जिवाणु देखिएपछि काठमाडौँमा रोग फैलने त्रास बढेको छ ।
गर्मी र वर्षातको समयमा हैजाको जोखिम अझ बढी हुन्छ ।
हैजाको मुख्य कारण हो, जथाभावी फालिने फोहोर र प्रदुषित पानी । काठमाडौँमा देखिएको हैजा यसैको उपज हो ।
मनसुन सक्रिय बन्दै जाँदा आउने बाढीले पानीका स्रोतहरू प्रदुषित बन्छन् र हैजाको जोखिम पनि बढ्छ ।
बाढीको प्रभाव तराईमा अझ बढी हुने भएकाले वर्षायाममा स्वच्छ खानेपानीको सङ्कट हुने गर्छ ।
यस्तो समयमा पानी उमालेर वा अन्य विधिबाट सुद्धिकरण गरेर पिउने बानी गर्नुपर्छ । रौतहटका मुकेस यादव भन्नुहुन्छ, ‘नागरिकमा त्यस्तो बानीको विकास भएको पाईँदैन ।’
बाढीका कारण तराईका अधिकांश बस्ती डुवानमा पर्छन् ।
यसले पानीका मुहान फोहोर हुने भएकाले थप सजग हुनुपर्ने विशेषज्ञ डा. भोजराज अधिकारी बताउनुहुन्छ ।
‘हैजाको मुख्य कारक भनेकै पानी हो ।’ सीआईएनसँग डा अधिकारीले भन्नुभयो, ‘वर्षाका समयमा यो विषयमा अझ बढी चनाखो हुनुपर्छ ।’
गतवर्ष कपिलबस्तुका विभिन्न स्थानमा हैजाबाट ६ जनाको मृत्यु भयो । १३ सय जनाभन्दा बढी विरामी परे ।
गर्मी र वर्षातको समयमा पानीको स्रोतमा हैजाको जीवाणु मिसिन पुग्यो भने दुषित पानी र त्यस्तो पानी प्रयोग भएको खाने कुराले मानिसमा यो रोगको सङ्क्रमण हुनसक्छ । मानिसले सामान्य खानपानमा ध्यान दिन सके यो रोगबाट बच्न सकिने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ ।
सुरुमा झाडापखला र बान्ताका छिटफुट बिरामी देखिए पनि समयमै सजग नबन्दा नियन्त्रणका लागि खोप अभियान नै चलाउनुपर्यो ।
त्यसैले पनि यसलाई सामान्य रुपमा लिन नहुने डा अधिकारी बताउनुहुन्छ ।
चिकित्सकहरूका अनुसार सुरुमा सामान्य झाडापखाला जस्तै लक्षण देखिए पनि तारन्तार पातलो दिसा हुनु र पानी जस्तै बान्ता हुनु हैजाको लक्षण हो ।
यसले शरीरमा पानीको मात्रा कम गराउँछ र मांसपेशी बाउँडिन थाल्छ ।
गर्मी र वर्षातको समयमा पानीको स्रोतमा हैजाको जीवाणु मिसिन पुग्यो भने दुषित पानी र त्यस्तो पानी प्रयोग भएको खाने कुराले मानिसमा यो रोगको सङ्क्रमण हुनसक्छ । मानिसले सामान्य खानपानमा ध्यान दिन सके यो रोगबाट बच्न सकिने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ ।
फोहोर पानी र फोहोर पानी प्रयोग भएको खानेकुराले हैजा लाग्न सक्ने भन्दै उहाँले भन्नुभयो ‘हामीले खाने खानेकुरा, खानेपानी र हाम्रो सरसफाइमा ध्यान दिन सक्यौँ भने यसबाट सजिलै जोगिन सकिन्छ ।’
विश्व स्वास्थ्य सङ्गठनको एक अध्ययनअनुसार विश्वभर हरेक वर्ष १३ देखि ४० लाख मानिसमा हैजा देखिने गरेको छ ।
जसमध्ये २१ हजारदेखि एक लाख ४३ हजार जनाको मृत्यु हुन्छ ।
समयमै उपचार नपाउँदा केही घण्टामै ज्यान जानसक्ने हैजा जस्तो सरुवा रोगबाट सामान्य सजगता अपनाए पनि बँच्न सकिने चिकित्सकहरु बताउँछन् ।
अडियो रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: सोमबार, असार ६, २०७९, ११:२०