काठमाडौँ । बुढीनन्दा नगरपालिका–७ बाजुराका शारदा कडारा भर्खरै २७ वर्षमा लाग्नुभयो । १६ वर्षमा टेक्नै लाग्दा विवाह भयो ।
सानैमा विवाह गर्ने रहर उहाँलाई थिएन । बरु पढ्ने, लेख्ने र जागिर गर्ने रहर थियो । तर परिस्थिति अनुकुल बनेन ।
किताबकापी बोक्नु पर्ने बेला सिङ्गो परिवारको दायित्व बोक्नुपर्यो । अहिले उहाँका साथमा १० वर्षका छोरी र ९ वर्षका छोरा छन् ।
विवाह भएको दुई वर्षमै थपिएका दुई सन्तानले आमा हुनुको गर्व त मिल्यो तर शरीर स्वस्थ रहेन । सानो काम गर्दासमेत हातगोडा गल्छन् ।
शरीरले थकान महसुस गर्छ । शारदालाई लाग्छ, ‘सानै उमेरमा आमा बनेका कारण शरीर कमजोर भएको छ । उहिले सानैमा विहे गरियो । यस्तो हुन्छ भन्ने थाहा भएको भए कहाँ विहे गरिन्थ्यो र ?’ उहाँ आफैलाई प्रश्न गर्नुहुन्छ ।
उमेर युवा अवस्थामै छ । शरीर निकै कमजोर बनिसक्यो । केही काम गरौँ भन्दा उहाँलाई त्यति आँट पनि आउँदैन ।
हेटौँडाका सुजता क्षेत्री भर्खर २१ वर्षको पुग्नुभयो, तर साथमा चार वर्षको बच्चा छ । पाँच वर्षअघि कक्षा १० मा पढ्दै गर्दा हेटौँडाकै प्रमिश गुरुङसँग प्रेम विवाह भयो ।
एउटै उमेर समूहका उहाँहरूबीच प्रेम गहिरियो तर फरक समुदायको भएकाले परिवारले सहजै स्वीकार गर्न सक्ने अवस्था थिएन ।
भागी विवाह गर्ने निर्णय गरेको यो दम्पती १७ वर्षको उमेरमै अभिभावक बन्यो ।
तर आफ्नै जीवनका लागि सङ्घर्ष गरिरहेको उमेरमा बालबच्चाको जिम्मेवारी थपिँदा तारतम्मे मिल्न सकिरहेको छैन ।
प्रमिस परिवार चलाउन रोजगारी गर्नुहुन्छ । आफ्नै उमेर परिपक्व छैन । त्यसमाथि सानो बच्चा । बच्चाको स्याहारसुसार सुजताका लागि चुनौतीपूर्ण छ ।
१६ वर्षमै विवाह गर्नुभएका बर्दियाका सुरज र सुस्मीता थारुको भोगाई पनि फरक छैन ।
विवाह पारिवारिक सहमतिमै भएको थियो । तर आफ्नो जीवनको गोरेटो खन्ने बेला परिवारको जिम्मेवारी दुबैका लागि बोझिलो महसुस हुन्छ ।
सुरज भन्नुहुन्छ, ‘सकेसम्म सानै उमेरमा कसैले पनि विवाह नगरुन्, मानसिक र आर्थिक रुपमा बलियो भएपछि मात्र विवाह गर्दा परिवार चलाउन सहज हुन्छ ।’
यदि विवाह गर्ने उपयुक्त उमेर २० थिएन भने कानुन किन संसोधन गरियो ? यदि छ भने सरकारले किन यसलाइ घटाउने तयारी गरिरहेको छ ? यसको चित्त बुझ्दो जवाफ सरकारसँग छैन ।
विवाह गरेपछि बन्धन हुने उहाँको अनुभव छ ।
सुस्मीता भन्नुहुन्छ, ‘नराम्रो त होइन, थर पढाइ प्रभावित हुन्छ । शारीरिक र मानसिक तनाव हुन्छ, काम गर्न पाइँदैन । आर्थिक रुपमा कमजोर बनिन्छ । परिवार छोडेर आफ्नो सुरमा हिँड्न पनि सकिँदैन ।’
यी केही उदाहरण मात्र हुन् ।
कलिलो उमेरमै विवाह गरेका कारण कतिले सुत्केरी हुन नसकेर ज्यान गुमाएका छन् । कति जोडीको त उमेर परिपक्व भएपछि छोडपत्र हुने गरेको छ ।
सानैमा विवाह गरेको र बच्चा जन्माएको कारण महिलाहरूले शारीरिक र मानसिक समस्या भोग्नु परेको कैयौँ घटना परिवार र समाजमै देखिने गरेका छन् ।
आर्थिक बोझका कारण आफ्नो र बालबालिका दुबैको भविष्य राम्रो भएन भन्नेहरू पनि धेरै भेटिन्छन् ।
यस्ता घटनाले देखाउँछ, विवाहका लागि उमेर परिपक्व हुनु आवश्यक छ ।
चाहे त्यो पारिवारिक सहमतीमा होस्, चाहे आफुखुसी ।
मुलुकी अपराध संहिताले पनि विवाहका लागि २० वर्ष उमेरलाई अनिवार्य मानेको छ । तर सरकार, कानुन संसोधन गरी विवाह गर्ने उमेर घटाउने तयारीमा छ ।
‘शैक्षिक, हिसाबले होस् या शारीरिक हिसाबले पहिला उनीहरूलाई परिपक्व हुन दिनुपर्छ । आफ्ना निर्णय आफै लिन सक्ने हुनुपर्छ ।’ मनोविद बिजुक्छेले भन्नुभयो ।
१६ वर्षमा नागरिकता र १८ वर्षमा मताधिकार पाइने भएपछि विवाह गर्न २० वर्ष कुर्नुपर्ने प्रावधान वैज्ञानिक नभएको सरकारको बुझाइ छ ।
सरकारको यो तयारीपछि विवाह गर्ने उमेर बारेमा थप बहस सुरू भएको छ ।
यदि विवाह गर्ने उपयुक्त उमेर २० थिएन भने कानुन किन संसोधन गरियो ? यदि छ भने सरकारले किन यसलाइ घटाउने तयारी गरिरहेको छ ? यसको चित्त बुझ्दो जवाफ सरकारसँग छैन ।
सरोकारवालाको धारणा के छ ?
प्रसुती तथा स्त्री रोग विशेषज्ञ सुमन ताम्रकार हाल भइरहेको बालविवाह रोक्नुको साटो उमेर नै घटाउन खोज्नु व्यवाहारिक नहुने बताउनुहुन्छ ।
‘विवाह प्रजननको विषयसँग पनि जोडिन्छ । प्रजनन स्वास्थ्यका हिसाबले २० वर्षमुनिका महिला विवाहका लागि तयार हुँदैनन् ।’ ताम्रकार भन्नुहुन्छ, ‘एक त उनीहरूमा प्रजनन् क्षमता उपयुक्त किसिमले विकास भएको हुँदैन । अर्को सानै उमेरमा आमा बन्दा शारीरिक समस्या देखिन सक्छ । आमामा पनि समस्या देखिन सक्छ भने बालबच्चा कम तौलका जन्मिने, विभिन्न किसिमका रोग लाग्न सक्ने र बच्चाको स्याहारसुसारमा कमि हुन हुन्छ ।’
नेपालको सन्दर्भमा मानव स्वास्थ्यका दृष्टिकोणले २० वर्षमुनिको विवाह वैज्ञानिक नहुने उहाँको भनाइ छ ।
विवाहका लागि २० वर्षे उमेर हदले अपराध बढाएको सरकारको तर्क छ ।
छिमेकी देश भारतले पनि केही महिनाअघि मात्रै विवाह गर्नका लागि उपयुक्त मानिने महिलाको उमेर १८ वर्षबाट बढाएर २१ वर्ष पुर्याएको छ ।
पुरुषको उमेर भने पहिल्यैदेखि २१ वर्ष तोकिएको थियो ।
उमेरहद बढी भएकै कारण जवरजस्ती करणी जस्ता जघन्य अपराध हुने गरेकोे विश्लेषण पनि एकथरीको छ । त्यस्तै हो त ?
एक जना मनोविद् विजया विजुक्छे यो तर्क मान्न तयार हुनुहुन्न । विवाहका लागि दुबैजनालाई परिपक्व हुन दिनुपर्ने उहाँको धारणा छ ।
‘शैक्षिक, हिसाबले होस् या शारीरिक हिसाबले पहिला उनीहरूलाई परिपक्व हुन दिनुपर्छ । आफ्ना निर्णय आफै लिन सक्ने हुनुपर्छ ।’ बिजुक्छेले भन्नुभयो ।
अन्यथा सानै उमेरमा विवाह गर्दा त्यसले पार्ने आर्थिक, सामाजिक र व्यवहारिक पाटोका कारण मानसिक समस्यासमेत उत्पन्न हुन सक्ने उहाँको भनाइ छ ।
२० वर्ष नपुगी विवाह गर्नबाट कडाइका साथ रोक लगाउनुपर्नेमा सानै उमेरमा गरिने विवाहका कारण हुने समस्याका बारेमा बुझाउनु पर्नेमा उल्टै उमेर घटाउन खोज्नु राम्रो नभएको उहाँको भनाइ रहेको छ ।
छिमेकी देश भारतले पनि केही महिनाअघि मात्रै विवाह गर्नका लागि उपयुक्त मानिने महिलाको उमेर १८ वर्षबाट बढाएर २१ वर्ष पु¥याएको छ ।
पुरुषको उमेर भने पहिल्यैदेखि २१ वर्ष तोकिएको थियो ।
चीनमा भने विवाहका लागि महिलाको उमेर २० र पुरुषको उमेर २२ वर्ष अनिवार्य पुगेको हुनुपर्छ ।
यस्तो अवस्थामा नेपालमा भने विवाहको उमेरहद घटाउन लागिएको प्रति नागरिकस्तरबाट पनि विरोध भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९, १७:१८