नेपालगञ्ज । २०६२/६३ सालको जनआन्दोलनका बेला बाँकेको नेपालगञ्जस्थित धम्वोझी चोकमा रहेको तत्कालीन राजा वीरेन्द्रको शालिक आक्रोशित समूहले तोडफोड गर्यो ।
१० वर्षपछि २०७३ सालको दोस्रो साता राजतन्त्रमा आस्था राख्नेहरूले वीरेन्द्रकै शालिक पुनर्स्थापना गरे ।
तर प्रशासनले मध्यरातमा हटायो ।
६ वर्षपछि गत जेठ १९ मा वीरेन्द्रको शालिक राख्न राजतन्त्रवादीहरूले गरेको अर्को प्रयास प्रशासनले नै विफल पारिदियो ।
शालिक राख्न नपाएको आक्रोशमा उक्त भीडले नेपालगञ्जकै न्युरोडमा रहेको जनआन्दोलनका सहिद सेतु विकको शालिकमा तोडफोड गर्यो ।
सेतु विक चोकलाई त्यसअघि पूर्वराजा ज्ञानेन्द्रको नाममा नामाकरण गर्नुपर्ने माग थियो ।
इतिहाससँग जोडिएका व्यक्तिको शालिक राख्दा सर्वपक्षीय सहमति जुटाउनुपर्ने वरिष्ठ साहित्यकार सनत रेग्मी बताउनुहुन्छ ।
‘अहिलेको अवस्थामा शालिक राख्ने र फेरि प्रहरीप्रशासनले हटाउने अभ्यासले राम्रो सन्देश गएको छैन । यसमा सर्वपक्षीय सहमति गरेर के गर्ने भन्ने बारेमा निर्णय लिनु राम्रो हुन्छ ।’ रेग्मीले विचार राख्दै भन्नुभयो,‘मेरो भनाइ त सबै शालिकलाई कुनै पार्कमा राखौँ भन्ने हो ।’
मधेस आन्दोलनको समयमा ज्यान गुमाएका कमल गिरीको नाउबाट सदरलाइनस्थित त्रिभुवन चोकको नामाकरण हुनुपर्ने माग थियो ।
तर करिब १५ वर्षपछि उक्त स्थानमा तत्कालीन राजा त्रिभुवनकै शालिक पुनर्स्थापना गरियो ।
विशेषतः त्रिभुवन र धम्बोझी चोकमा पूर्वराजाको शालिक राख्ने वा नराख्ने ? भन्ने विषयमा विवाद हुने गरेको छ ।
वरिष्ठ पत्रकार पूर्णलाल चुके शालिकसँग इतिहास जोडिने टिप्पणी गर्नुहुन्छ ।
तर पछिल्लो पुस्ताले इतिहास मेटाउन खोजेको उहाँको बुझाइ छ ।
‘शालिक र प्रतिमाले इतिहास देखाउँछ । हिटलर पनि नामुद तानाशाह थिए । तर उनको देशमा हिटलरको शालिक अझैँ देख्न पाइन्छ ।’ पत्रकार चुकेले भन्नुभयो ।
१ दर्जनभन्दा धेरै चौक रहेको नेपालगञ्जमा कसको शालिक राख्ने ? भन्दै बेलाबखत हुने आन्दोलनले व्यापार व्यवसाय प्रभावित हुने गरेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवि ओली सरोकारवाला निकायको ध्यान जानुपर्ने ठाउँमा नगएको बताउनुहुन्छ ।
नेपालगञ्जमा भएका सबै सरकारी र गैरसरकारी कार्यालय अन्तै गइसक्दा पनि कुनै पनि राजनीतिक दल वा समूहले यसबारेमा नसोचेको उहाँको भनाइ छ ।
मूर्ति कुन, कहाँ राख्ने भन्ने विवाद बढ्दा र यसबाट हुने आन्दोलनले व्यवसायीलाई घाटा पुगेको छ ।’ उहाँले थप्नुभयो ।
जनआन्दोलनताका नेपालगञ्जकै कारकाँदो चौकलाई पूर्व युवराज पारसको नामबाट चोक घोषणा गर्नुपर्ने माग कतिपयले गरे ।
विरोधकाबीच नेवार समुदायले शङ्खधर साख्वा चौक बनाउनुपर्ने भनी गरेको मागलाई तत्कालीन खास कारकाँदो गाविसले सहमति दिए पनि नेपाल उद्योग वाणिज्य सङ्घले औद्योगिक स्तम्भ बनाउने प्रस्ताव गरेपछि केही समय शालिक र चोक घोषणाको विषय सेलाएको थियो ।
अहिले भने कारकाँदो चोकमा हाइमास्ट लाइट जडान गरिएको छ भने शङ्खधर साख्वाको शालिक भने नेपालगञ्ज १० आदर्शनगरमा राख्ने सहमति भएको नेवा देय दवुका बाँके अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।
जनआन्दोलनकै समयमा बाँकेमा प्राध्यापक हरिहर अधिकारीको निधन भयो ।
उहाँको नामबाट ट्राफीक चोकलाई नामाकरण गर्नुपर्ने माग विद्यार्थी र प्राध्यापक सङ्गठनहरूले पनि गरेका थिए ।
तर पछि उक्त माग पूरा नभएको महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक हरि तिमल्सिना बताउनुहुन्छ ।
१ दर्जनभन्दा धेरै चौकहरू रहेको नेपालगञ्जमा बौद्ध धर्मालम्बीहरूले पनि आफ्नो आस्था र विश्वास दर्शाउने गरी चौकको घोषणा गरिनुपर्छ भन्दै आएका छन् ।
एक जना अधिकारकर्मी प्रकाश उपाध्यायका अनुसार केही सन्देश दिनेभन्दा पनि आफ्नो प्रभुत्व जमाउनका लागि नै शालिकमा आस्था राख्ने र यसैमा राजनीति गर्नेक्रम नेपालगञ्जमा बढ्दै गएको छ ।
शालिक राख्ने बारेमा नागरिकस्तरमाभन्दा पनि निश्चित दल र नेतृत्व तहमा धेरै देखिन्छ ।
तर यसैका कारण विभिन्न जाति, धर्म, भाषा, भेष र विचारको फूलबारी मानिने नेपालगञ्जले देखाएको भाइचारा अनि आत्मीयताको उदाहरण टुट्नु हुँदैन भन्ने चिन्ता जनस्तरमा सुनिन्छ ।
नेपालगञ्जको बजार र चोकहरू नियाल्दा यस्तो लाग्छ, ‘यो सालिकहरूको सहर हो ।’
ठाउँठाउँमा चोक, चोकहरूमा सालिक ठडिएका छन् ।
जनआन्दोलनको समयमा कतिपय सालिक भत्काइए र कतिपय ठड्याइए पनि । तर हिजोआज यीनै सालिकमाथि हुने राजनीतिमा स्वार्थ देखिन थालेको छ ।
अडियो रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९, ०७:४६