काठमाडौँ । सरकारमा गएका मन्त्रीहरु फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने नेकपा एकीकृत समाजवादीको निर्णयमा उक्त पार्टीको तर्फबाट नियुक्त चार मन्त्रीले असहमति जनाएका छन् ।
उनीहरुले पार्टीको निर्णय अपरिपक्व भएको भन्दै अध्यक्ष माधवकुमार नेपालको ध्यानाकर्षण गराएका छन् ।
ध्यानाकर्षण पत्र बुझाउनेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा उड्ययन मन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।
बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासी मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
तत्काल संसदीय दलको बैठक बोलाउन उनीहरुको माग रहेको छ ।
चार जना मन्त्रीसहित अन्य ६ जना सांसद कृष्ठलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी,पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पनि ध्यानाकर्षणपत्रमा हस्ताक्षर गरेका छन् ।
एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल पक्षले भने सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगरेको भन्दै अध्यक्ष नेपालमाथि दवाव दिँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९, १२:२२