बुटवल । यस वर्ष मनसुन भित्रिए पनि नियमित वर्षा त भैसकेको छैन् । तर जोखिममा रहेका नागरिकमा त्रास भने सुरु भएको छ ।
२०७८ साल भदौ १३ र १४ गते बुटवलको ज्योतीनगरमा चुरे पहाडबाट आएको लेदोसहितको पहिरोले १० घरमा क्षति पुगेको थियो भने ६० भन्दा बढी घरमा लेदोसहितको बाढी पसेको थियो ।
यद्यपी बाढी दिउँसोको समयमा आएको हुदाँ कुनै मानवीय क्षति हुन पाएन ।
समयमै उद्धारका काम पनि भए ।
लेदोसहितको पहिरोले ज्योतिनगरका ६० भन्दा बढी घरपरिवार विस्थापित हुदाँ मनसुन नसकिँदासम्म स्कूल, छिमेकीको घरमा बसेर वर्षायाम गुजारेपछि आआफनो घरमा आएको नेपाली सम्झनुहुन्छ ।
‘यस वर्ष पनि मनसुन भित्रिएको छ । दिउँसोमा काममा व्यस्त हुने हुदाँ खासै चिन्ता लाग्दैन् । जब साँझ पर्छ त्यसपछि बिस्तारमा गए देखि नै निद्रा पर्दैन ।’ अर्का स्थानीय मिलन गौतमले सुनाउनुभयो ।
जब आकासमा बादल मडारिएर बिजुली चम्कन थाल्छ, उहाँ रातभर जागाराम नै बस्ने गर्नुभएको छ ।
बुटवल वडा नम्बर ४ का गोपाल भलामीले वर्षायाम सुरु भएपछि आफू चिन्तामा रहेको सुनाउनुभयो ।
गत साल बाढी आउँदा सबै कोठाभित्र पसेको र खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र बाइक नै बगाएको उहाँको भनाइ छ ।
बाढी पहिरोले नोक्सानी गरेपछि मात्र सुरक्षित स्थानको खोजी गर्ने परिपाटीले धेरै धनजनको क्षति हुने डर स्थानीयबासीमा छ । त्यसैले बाढीपहिरोको जोखिम क्षेत्रमा नियन्त्रणका उपाय अपनाउन र पूर्वतयारीका लागि काम गर्न स्थानीय सरकारलाई ज्योतिनगरबासीको अनुरोध छ ।
‘सम्पत्तिको नाममा एउटा सानो झुपडी छ । त्यो पनि पोहोरको पहिरोले जोगाइदिए पनि यस वर्ष औसत भन्दा बढी पानी पर्ने मौसमविद्बाट जानाकारी पाएका छौँ । वर्षाले कुनै क्षति नगरे हुने थियो, यो घर पनि बगायो भने कहाँ जाने होला ?’ गोपालले सोध्नुभयो ।
भलामीको मात्रै होइन, पहिरोको डरत्रासमा बस्नुपरेको ज्योतिनगरकै तुल्सादेवी घर्तीले बताउनुभयो ।
‘पहिरो नियन्त्रणका काम त भएका छन् । ठूलो वर्षा भए समाधान हुदैन कि । आर्थिक अवस्था सामान्य छ । कुनै सुरक्षित स्थानमा स्थानान्तरण गराइदिए राम्रो हुने थियो ।’ तुल्सादेवीले भन्नुभयो ।
बुटवल उपमहागरपालिका प्रमुख खेलराज पाण्डेले भने ज्योतिनगर र लक्ष्मीनगरको पहिरो नियन्त्रणका लागि तत्कालीन र दीर्घकालीन योजना बनाइएको दावी गर्नुहुन्छ ।
आफू निर्वाचित हुनासाथ बाढी, पहिरोको उच्च जोखिम भएको विभिन्न ठाउँमा पुगेर स्थलगत अवलोकन गर्नुका साथै स्थानीय बासिन्दाका समस्या बुझेको उहाँको भनाइ छ ।
चुरे तिनाउ बहुउद्देश्य विकास मञ्चका संयोजक कमल गौतमसँग पनि समस्या समाधानका बारेमा छलफल भएको भन्दै नगरप्रमुख पाण्डेले यस वर्ष पहिरो नियन्त्रण गर्न तारजाली, तटबन्ध, पर्खाल र वृक्षारोपणका काम भइरहेको जानकारी दिनुभयो ।
२०५५ सालमा ज्योतिनगर बस्ती हटाउन र चुरे पहाडलाई असर गर्ने कुनै पनि काम गर्न नहुने निष्कर्ष निकाल्दै बुटवललाई सुझाव दिएपछि कार्यान्वयन नगर्दा फेरि २३ वर्षपछि गत साल बुटवलमा पहिरो झरेको हो ।
बाढी पहिरोले नोक्सानी गरेपछि मात्र सुरक्षित स्थानको खोजी गर्ने परिपाटीले धेरै धनजनको क्षति हुने डर स्थानीयबासीमा छ ।
त्यसैले बाढीपहिरोको जोखिम क्षेत्रमा नियन्त्रणका उपाय अपनाउन र पूर्वतयारीका लागि काम गर्न स्थानीय सरकारलाई ज्योतिनगरबासीको अनुरोध छ ।
प्रकाशित मिति: शनिबार, असार ११, २०७९, १६:११