काठमाडौँ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफ्नो पहुँच बढाउनका लागि आवश्यक सबै कदम चाल्ने महिला सांसदहरूले प्रतिबद्धता जनाएका छन् ।
सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले ‘सञ्चारमाध्यम र सामाजिक सञ्जालमा महिला सांसदको पहुँच र चुनौती’ विषयक अन्तरक्रियामा पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद रेखा शर्माले सामाजिक सञ्जालमा सक्रियता बढाउने प्रतिबद्धता जनाउनुभयो ।
पार्टीका निणर्य र गतिविधिका बारेमा सामाजिक सञ्जालबाट सार्वजनिक गर्नेभन्दा पनि त्यहाँ आइरहेका गुनासो, छलफलका बारेमा जानकारी लिन सामाजिक सञ्जालमा जोडिने गरेको उहाँको भनाइ छ ।
सांसदहरू केही आफ्नै कारणले सञ्चारमाध्यमको पहुँचमा नरहे पनि अधिकांश सञ्चारमाध्यमले महिला भएकै कारण प्राथमिकता नदिने सांसद शर्माको भनाइ छ ।
‘जिम्मेवार तहमा नपुगेका कारण पनि महिलाहरूको पहुँच नपुगेको हो । सकारात्मक कुरा भए पनि कहिलेकाहीँ सञ्चारमाध्यममा आउने गरेका छैनन् ।’ शर्माले थप्नुुभयो ।
प्रतिनिधि सभा मातहतको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले एक व्यक्तिले मात्रै सूचना, जानकारी दिनसक्छ भन्ने मान्यता सञ्चारकर्मीमा देखिएको धारणा राख्नुभयो ।
पुरुषहरूले जस्तो उच्च मनोबलले बोल्ने वातावरण महिला सांसदलाई नभए पनि निणर्ायक छलफलमा सहभागी भएमा वा सूचना दिने पदमा रहँदा महिलाले पनि उदाहरणीय काम गर्न सक्ने उहाँको भनाइ छ ।
राजनीतिक दलहरूमा क्षमता भएका महिलाभन्दा कमजोर पुरुषलाई स्थान दिने परिपाटीले पनि यस्तो समस्या देखिएको उहाँले बताउनुभयो ।
‘घरयासी व्यवहारका कारणले महिला सांसद सामाजिक सञ्जालमा कम आउने गरेका छन् । व्यक्तिभन्दा पनि विषयलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्छ ।’ सभापति खड्काले भन्नुभयो ।
आगामी दिनमा महिला सांसदलाई सूचना तथा प्रविधिमा जोड्नका लागि समितिले अग्रसरता लिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
नेपाली काँग्रेसका सांसद लक्ष्मी परियारले नेतृत्व भनेकै पुरुष हो भन्ने मानसिकता सञ्चारमाध्यममा रहेको टिप्पणी गर्नुभयो ।
महिला सांसदलाई नितृत्व र सञ्चारमाध्यमको पहुँचमा पुर्याउन पछाडि पारिएकाहरूको बारेमा सामग्री वा शृङ्खला तयार पार्नुपर्ने उहाँको सुझाव छ ।
पुरुष र महिला सांसदले एकै विषय उठाउँदा सञ्चारमाध्यममा पुरुष मात्र छाउने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै सांसद परियारले आगामी दिनमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि सक्रिय रहनका लागि कोसिस गर्ने प्रतिबद्धता जनाउनुभयो ।
एमाले सांसद सरिता न्यौपानेले केही सांसदलाई मिडियाले नै सेलिब्रेटी बनाउने गरेको विचार राख्नुभयो ।
‘मन्त्रीमण्डल, निर्वाचन, महाधिवेशनमा मिडियाले छानीछानी चर्चित बनाउँछ । मिडियाले पार्टीका ठूला नेतालाई खोज्ने । महिलासँग सूचना भए पनि नदिनुको कारण उनीहरूले पार्टीले लिएको अनुशासनको नीतिको पूणर् पालना गर्नु पनि हो ।’ सांसद न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा आर्थिक पत्रकार सङ्घका अध्यक्ष पत्रकार मोदनाथ ढकालले सञ्चारमाध्यममा बोल्नेमा महिला कम, लेख्नेमा पनि महिला कम र समाचारका विषयमा पनि महिला कम रहेको बताउँदै मिडियाले स्रोत एकदम छिटो खोज्ने र विश्वसनियता खोज्ने भएका कारण महिला सांसद पर्याप्त सङ्ख्यामा पहुँचमा नरहेको धारणा राख्नुभयो ।
‘महिला सांसदलाई केन्द्रीत गरी सञ्चारमाध्यमले समावेशिताको अभ्यास गर्नुपर्छ । आमसञ्चारले विषयको जानकारी खोज्ने भएकाले अध्ययन हुनुपर्छ । सामाजिक सञ्जालमा विचार व्यतm गरिरहनुपर्छ । यसले पत्रकारलाई सूचना लिन सजिलो हुन्छ ।’ अध्यक्ष ढकालले थप्नुभयो ।
कार्यक्रम पत्रकारहरुले महिला सांसदले संसद, संसदीय समिति, सरकार र आफ्नो राजनीतिक दलको सूचनाको पहुँचमा भए जुनसुकै समयमा पनि जानकारी लिन सकिने बताएका थिए ।
महिला सांसदको सूचना प्रविधि, सामाजिक सञ्जालमा पहुँच बढाउन संसद र संसदीय समितिले कार्यक्रम बनाउनुपर्ने उनीहरुको सुझाव थियो ।
प्रकाशित मिति: सोमबार, असार १३, २०७९, १५:३०