काठमाडौँ । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीए डट फाइभ’ पुष्टि भएको छ।
ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए डट फाइभ’ नेपालमा पहिलोपटक पुष्टि भएको हो ।
धुलिखेल अस्पतालमा गरिएको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) बाट ओमिक्रोनको उपप्रजाति ‘बीए डट फाइभ’ पुष्टि भएको धुलिखेल अस्पताल प्रयोगशालाका डा.दिपेश ताम्राकारले सीआईएनसँग बताउनुभयो ।
सरकारले पनि नेपालमा ओमिक्रोनको उपप्रजाति पुष्टि भएको बताएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले गत मङ्गलवार कोरोना सङ्क्रमण पुष्टि भएकाहरूको जिन सिक्वेन्सिङ गर्दा नयाँ उपप्रजाति फेला परेको बताउनुभयो ।
उहाँले मङ्गलवार जिन सिक्वेन्सिङ गरिएका एकजनामा उपप्रजाति बीए डट फाइभ हिजो मात्रै पुष्टि भएको भन्दै यस विषयमा थप अध्ययन भइरहेको जानकारी दिनुभयो ।
हालका लागि यो कति खतरनाक छ भनेर अहिले नै भनिसक्ने अवस्था नरहे पनि यो बढी सङ्क्रामक हुन सक्ने उहाँको भनाइ छ ।
सङ्क्रमण पुष्टि भएका व्यक्ति कहाँका हुन् र उनीको यात्रा अभिलेख के थियो भन्ने बारेमा खुलाइएको छैन ।
प्रकाशित मिति: सोमबार, असार २०, २०७९, ०८:३३