काठमाडौँ । गीतसङ्गीतको विकास र नवप्रतिभाहरुको खोजी गर्ने उद्धेश्यले नेपालमा पहिलो पटक सङ्गीत प्रतियोगिता सम्पन्न भएको छ ।
प्रसाईसन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा चितवनका जीबी सुनार प्रथम हुँदै ५० हजार नगदसहित पुरस्कृत हुनु भएको छ ।
काठमाडौँमा आज आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, चलचित्र लेखक तथा निर्देशक मोहन निरौला लगायतले पुरस्कार प्रदान गर्नुभयो ।
गीतकार तथा गजलकार चन्द्र प्रसाई 'परिष्कृत' को शब्दमा `म आफैँ रुझेँ कि जीवनले रुझायो´ बोकको गीतमा सुरुमा मुलुकका विभिन्न जिल्लाका २६ जनाले सङ्गीत दिएका थिए ।
तीमध्ये उदयपुरका इन्द्र आरपी, सङ्खुवासभाका केशव अधिकारी चितवनका जीबी सुनार, सुनसरीका पासाङ तामाङ र बाँकेका सुजन थारु उत्कृष्ट पाँचजनामा छानिनु भएको थियो ।
उत्कृष्ट पाँचजनालाई पनि आज प्रमाणपत्र प्रदान गरियो ।
आज भएको प्रतियोगिता समापन समारोहमा गीतकार चन्द्र प्रसाई `परिस्कृत´ले अमेरिकाबाट पठाएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो ।
प्रतियोगिताको निर्णायकमा वरिष्ठ गायक आनन्द कार्की, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ र लोकप्रिय गायिका प्राश्ना शाक्य रहनुभएको थियो ।
प्रकाशित मिति: सोमबार, असार २०, २०७९, २२:४५