बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिकामा हालसम्म २८ प्रतिशत मतदान सकिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार १३ हजार ६ सय ५९ मतदातामध्ये बिहान दस बजेसम्मको तथ्याङ्क हेर्दा ३८ सय ३५ मत खसेको छ ।
भयरहित वातावरणमा मतदानका लागि सबै सुरक्षा सावधानी अपनाइएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी अधिकारीले राति ९ बजेसम्ममा मत पेटिका सङ्कलनको काम सकिने बताउनुभयो ।
सकभर आजै गणना सुरु गर्ने तयारी गरिएको उहाँको भनाइ छ ।
मतदानस्थल वरपर नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मतदानका लागि ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको नगरपालिकाको मतदाता सङ्ख्या १३ हजार ६ सय ५९ छ । नगरपालिकाको मेयरमा नेकपा एमालेबाट रामबहादुर बानियाँ र काँग्रेसबाट रंगबहादुर खाती उम्मेदवार हुनुहुन्छ ।
गत वैशाख ३० को मतदानको समयमा सुरक्षा व्यवस्था कम्जोर भएका कारण स्वतन्त्र निर्वाचन नभएको भन्दै निर्वाचन आयोगले पुनः मतदानको निणर्य गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९, ११:४३