काठमाडौँ । सर्लाहीको लालबन्दी नगरपालिका १० मा २ वर्षअघि एकजना बालकको सर्पले टोकेपछि मृत्यु भयो ।
मृत्युको कारण थियो, समयमै सर्पदंश उपचार केन्द्रसम्म पुर्याउन नसक्नु ।
लालबन्दी १० का चेतबहादुर मगर, त्यसको साक्षी हुनुहुन्छ । उहाँका अनुसार ती बालकलाई सर्पले टोकेको मात्रै थाहा थियो । तर, कुन सर्पले टोक्यो भन्ने खुलेको थिएन ।
सर्पदंश उपचार केन्द्रसम्म लिएर जाने वा अस्पताल पुर्याइहाल्नुपर्छ भन्ने पनि थाहा नहुँदा ती बालकको मृत्यु भयो ।
रौतहटका महादेवी पासवानका श्रीमानको गत वर्षको साउनमा मृत्यु हुनुको कारण पनि सर्पको टोकाइ नै थियो ।
साहुको घरमा काम गर्न गएका बेला महादेवीका श्रीमानलाई सर्पले टोकेको थियो ।
‘सर्पले टोकिसकेपछि झारफुक गरायौँ । पछि अस्पताल लग्यौँ । त्यहाँबाट अर्को अस्पताल पठायो । अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भयो । अनि शव फर्काएर अन्त्येष्ठि गरियो ।’ ती दिन सम्झँदै महादेवी भावुक हुनुभयो ।
सर्लाही र रौतहटमा मात्रै होइन, गर्मी मौसम सुरु भएसँगै तराईँका जिल्लामा सर्पको जोखिम धेरै हुन्छ ।
यसबाट बच्नका लागि सावधानी अपनाउनुपर्छ । यदि सर्पले टोकेका व्यक्तिलाई समयमै एन्टिस्नेक भेनम दिइएन भने मृत्यु हुने गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष १ हजारभन्दा बढी व्यक्तिको मृत्यु सर्पले टोकेर हुन्छ ।
कतिपय मानिसको स्वास्थ्यसंस्था नपुग्दै मृत्यु हुन्छ,त्यसैले पनि सर्पको टोकाइका कारण ज्यान गुमाउनेको तथ्याङ्क सार्वजनिक गरिनेभन्दा धेरै हुन्छ ।
नेपालमा हालसम्म २ ओटा उद्योगले एन्टिस्नेक भेनम आयातका लागि अनुमति पाए पनि यसको उत्पादनका लागि कुनै पनि उद्योग दर्ता भएका छैनन् ।
सर्पले टोकिहालेमा उपचारका लागि आवश्यक पर्ने एन्टिस्नेक भेनम भने नेपालमा उत्पादन हुँदैन ।
एन्टिस्नेक भेनम बर्सेनि करिब ३० हजार भाइल भारतबाट आयात गरिन्छ र यसैका लागि बर्सेनि झन्डै २ करोड रकम बाहिरिने गरेको छ ।
यो ओषधि निर्यात बन्द गर्ने ८ वर्षअघिको भारतको घोषणा कार्यान्वय भयो भने नेपालमा सर्पले टोकेको अवस्थामा उपचार नपाउने अवस्था आउन सक्छ ।
यसैका कारण पनि सरकारले नेपालमै एन्टीस्नेक भेनम उत्पादनमा प्रोत्साह गरे पनि प्रगति उत्साहजनक छैन । २०७६ सालमा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालमै एन्टिस्नेक भेनर उत्पादन गर्ने भनेर घोषणा गर्यो ।
प्रतिष्ठानले सर्लाहीको लालबन्दीमा करिब साढे आठ बिगाहा जग्गामा “एन्टीस्नेक भेनम” उत्पादन गर्ने घोषणा गरेको ३ वर्ष भयो ।
प्रतिष्ठानका अध्यक्ष रेवती पन्तका अनुसार प्रदेश सरकारसँगको समन्वयमा ७५ करोडको लगानीमा एन्टिस्नेक भेनम उत्पादन गर्न भौतिक संरचनाको काम भइरहेको छ ।
नेपालमै उत्पादन गर्नका लागि जति खर्च पर्छ, जति लगानी लगाउनुपर्छ त्योभन्दा कममै आयात गर्न सहज भइरहेको हुँदा उत्पादन गरिहाल्न अहिले नै आवश्यक नरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीको भनाइ छ ।
थप कामका लागि अध्ययन भइरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कोरोनाका कारण पनि काम प्रभावित भयो । तर, अहिले द्रूत गतिमा काम भइरहेको छ । आशा छ अबको २ वर्षमा सबै काम पूरा हुन्छ र नेपालमै एन्टिस्नेक भेनम उत्पादन सुरु हुन्छ ।’
सुनसरीस्थित एन्टिस्नेक भेनोम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालिले औषधि उत्पादन गर्ने २०७५ मा घोषणा गरेको थियो ।
तर, उत्पादन अझै सुरु हुन नसकेको उद्योगका अध्यक्ष लक्ष्मीप्रसाद फुयाँल बताउनुहुन्छ ।
उहाँका अनुसार नेपालमै एन्टिस्नेक भेनम उत्पादनका लागि सरकारले नीतिनियम बनाउन सकेको छैन । नीति नै नभएपछि काम गर्न समस्या भइरहेको छ ।
‘एक त कोरोनाले गर्दा समस्या भयो । अब ऋणका लागि बैँकहरूले सहजीकरण गर्न मानिरहेका छैनन् । भौतिक संरचनाका कामहरू अन्तिम चरणमा पुगिसकेको छ । तर, सरकारलाई ऋणको लागि बैँकलाई सहजीकरण गरिदिन भनिदिनका लागि आग्रह गर्दा सरकारले कुनै सहयोग गरेको छैन ।’ अध्यक्ष फुयाँलको गुनासो छ ।
नेपालमा हालसम्म २ ओटा उद्योगले एन्टिस्नेक भेनम आयातका लागि अनुमति पाए पनि यसको उत्पादनका लागि कुनै पनि उद्योग दर्ता भएका छैनन् ।
सरकारले अहिले आयात गरिरहेको एन्टिस्नेक भेनमको प्रतिभाइल एक हजारदेखि १५ सय मूल्य तिर्नुपर्छ । तर, सुनसरीस्थित एन्टिस्नेक भेनोम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालिका अध्यक्ष फुयाँलले नेपालमै उत्पादन भए ७ सयदेखि ८ सय पर्ने दावी गर्नुहुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले भने नेपालमै एन्टिस्नेक भेनम उत्पादन गरिहाल्नुपर्ने अवस्था नरहेको टिप्पणी गर्नुभयो ।
हाल नेपालमा खपत भइरहेको एन्टिस्नेक भेनमले नै सरकारलाई फाइदा पुगिरहेकाले उत्पादनमा ध्यान नदिएको भन्दै नेपालमै उत्पादन गर्नका लागि जति खर्च पर्छ, जति लगानी लगाउनुपर्छ त्योभन्दा कममै आयात गर्न सहज भइरहेको हुँदा उत्पादन गरिहाल्न अहिले नै आवश्यक नरहेको उहाँको भनाइ छ ।
सर्पको विषबाट, एन्टीस्नेक भेनोम बनाइन्छ ।
सरकारले औषधिमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि एन्टिस्नेक भेनम उत्पादन गर्ने विषयमा किन उदासिन ? भन्ने प्रश्नको जवाफमा डा.अधिकारी भन्नुहुन्छ, ‘नेपालमा एन्टिस्नेक उत्पादनका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनलाई हेर्नुपर्छ । भन्नेबित्तिकै कानुन संशोधन हुँदैन । अर्को भनेको नेपालमा उत्पादन गर्नुभन्दा बाहिरबाट ल्याउनमा नै सहज र सस्तो भइरहेको छ ।’
उहाँ थप्नुहुन्छ, ‘अहिले हामीले आयात गरिरहेको एन्टिस्नेक भेनम ५ देखि ६ वटा सर्पको विषबाट बनेको छ । नेपालमै कतिको सहज हुन्छ हुँदैन भनेर कसैले अध्ययन पेश गरेको छैन । नेपालमा एन्टिस्नेक भेनम उत्पादनका लागि अहिलेसम्म कुनै उद्योगले सहजीकरणका लागि पनि खासै ठोस अनुसन्धान र अध्ययन पेश पनि गरेको छैन ।’
सरकारले अहिले आयात गरिरहेको एन्टिस्नेक भेनमको प्रतिभाइल एक हजारदेखि १५ सय मूल्य तिर्नुपर्छ । तर, सुनसरीस्थित एन्टिस्नेक भेनोम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालिका अध्यक्ष फुयाँलले नेपालमै उत्पादन भए ७ सयदेखि ८ सय पर्ने दावी गर्नुहुन्छ ।
नेपालमा ८० प्रकारका विषालु र अविषालु सर्पहरू पाइन्छन् । जसमा २० प्रकारका विषालु सर्पहरू छन् ।
रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: शनिबार, असार २५, २०७९, ११:२०