बाजुरा । बाजुरा सदरमुकाम मार्तडीमा स्थानीय लालबहादुर खड्का करेसाबारी खन्दै गरेको अवस्थामा भेटिनुभयो ।
आलु लगाइसकेको बारीमा मकै र भटमास रोप्ने उहाँको तयारी छ । त्यसैका लागि माटोमा गोठेमल मिसाउन थाल्नुभएको रहेछ ।
गोठे मलले माटो पनि मलिलो बनाउने अनि उत्पादन पनि राम्रो हुने भएका कारण रासायनिक मलप्रति नलागेको उहाँको भनाइ छ ।
‘प्राङ्गारिक मलले माटोलाई पोषक तत्व दिन्छ भन्ने सुन्दै जन्मिएँ । दैनिक रूपमा उपभोगका लागि दूध लगाउने गरेकै स्थानबाट मागेर बारीमा गोठे मलको प्रयोग गरिरहेको छु ।’ लालबहादुरले थप्नुभयो ।
बाजुराकै बडीमालिका नगरपालिका २ का शर्मिला सागरले पनि खेतबारीमा अहिलेसम्म रासायनिक मल प्रयोग गर्नु भएको छैन ।
कारण बारे उहाँले भन्नुभयो,‘गाइभैँसीको मल नै राम्रो हुन्छ भन्ने हामीले सुनेका छौँ । स्याउला सोत्तरलाई खाल्डोमा कुहाएर नै मल उत्पादन गर्दै आएका छौँ ।’
७० वर्षीय पुनी थापा अझैँ पनि गाइभैसीको स्याहारसुसार र भकारो व्यवस्थापनमा बिहान, दिउँसो र साँझ नभनी खट्नुहुन्छ ।
यो मेहनतको प्रतिफल करिब २ रोपनी क्षेत्रफलको खेतीबारीका लागि पर्याप्त गोठेमल उत्पादन भइरहेको छ ।
‘गाई, भैँसी र गोरुको मलबाट हामी मल उत्पादन गछौँ । धान, कोदो, गहुँमा यसलाई प्रयोग गछौँ । उत्पादन पनि राम्रै भइरहेको छ । तरकारी, फलफूलदेखि बारीमा यही मल हाल्ने गरेका छौँ ।’ पुनीले भन्नुभयो ।
मार्तडीकै मोना थापाई हिजोआज कोदो सार्न भ्याइनभ्याइ छ । उहाँको बारीमा गोठेमलका टुक्राहरू ठाउँठाउँमा देखिन्छन् ।
स्वामिकार्तिक खापर गाउँपालिका १ का वसन्ता विकका अनुसार किसानहरूले वनका स्याउलासोत्तर, गाइवस्तुको मल मिसाएर खाडलमा पुर्ने र बोकेर गरामा पुर्याउने गरेका छन् ।
जिल्लाको त्रिवेणी र बुढीगङ्गा नगरपालिकामा किसानलाई रासायनिक मलमा बानी पार्न निशुल्क वितरण गरिएको थियो ।
यो २०५१ सालतिरको कुरा । यति गर्दा पनि किसानहरू यसतर्फ आकर्षित भएनन् र उनीहरू कम्पोष्ट मल, गोठेमलको प्रयोगमा लागे ।
कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैसीले अभाव पनि अवसर हुन्छ भनेझैँ रासायनिक मल पर्याप्त नपाउनुको फाइदा बजुराका किसानहरू प्राङ्गारिक मलको प्रयोग गरिरहेका छन् ।
‘किसानहरूले ध्यान दिनुपर्ने कुरा के छ भने गोठे मललाई घाम, हावा र ठूलो भलपानीबाट जोगाउन सक्नुपर्छ ।’ सूचना अधिकारी जैसीले भन्नुभयो ।
कम्जोर आर्थिक अवस्था र पर्याप्त आपूर्ति नहुँदा बाजुराबासी रासायनिक मल प्रयोग गर्दैनन् ।
९ स्थानीय तह रहेको जिल्लाका ६ स्थानीय तहका नागरिक गोठेमलमा निर्भर छन् ।
अर्गानिक उत्पादनको महत्व बड्दै जाँदा ती स्थानीय तहलाई अर्गानिक घोषणा गर्न सकिने भए पनि यसबारेमा कुनै छलफल भएको छैन ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी जैसी खप्तड छेडेदह, गौमुल, हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालकिा र बुढीनन्दा नगरपालिकालाई अर्गानिक क्षेत्रको रूपमा विकास गर्न सकिने बताउनुहुन्छ ।
बाजुरामा त्रिवेणी र बुढीगंगा नगरपालिकाका किसानले भने रासायनिक मलको प्रयोग गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार बाजुरामा २४ हजार घरधुरी किसान छन् । तीमध्ये करिब ७ हजार घरधुरीले मात्रै रासायकि मलको पहुँच छ ।
अडियो रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: शनिबार, असार २५, २०७९, ११:५३