काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर ईद अर्थात् इदुल जोहा आज हर्षोल्लासका साथ मनाइँदै छ ।
इदुलफित्र अर्थात् रमजान पर्व मनाएको ७० औँ दिनमा बकर ईद मनाउने परम्परा छ ।
मुस्लिम धर्मावलम्बीहरूले आज बिहानै स्नान गरि नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्ने गर्छन् भने एकआपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरेर यो पर्व मनाइरहेका छन् ।
बकर ईदको अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीहरूको भीड लागेको छ ।
हिजरी संवत् अनुसार १४ सय ३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो ।
जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्गमा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ ।
मुस्लिम धर्मावलम्बीले तीन दिनसम्म यो पर्व मनाउँछन् ।
यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले बताउनुभयो ।
बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
प्रकाशित मिति: आइतबार, असार २६, २०७९, ०७:५८