कृष्ण ओली, रेडियो बाजुरा, बाजुरा
बाजुराको बुढीगङ्गा नगरपालिकामा गत बिहीवार भएको मतदानको अन्तिम परिणाम आज आउने भएको छ ।
अहिलेसम्म १० मध्ये ६ वटा वडाको मतपरिणाम आइसकेको र बाँकी ४ वटाको पनि आज दिउँसोसम्ममा मतपरिणाम आउँने निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठायतले सीआइएनसँग बताउनुभयो ।
उहाँका अनुसार अहिलेसम्म ६ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमालेले ५ तथा नेपाली काँग्रेसले एउटा वडामा जीत हात पारेको छ ।
नगरपालिकाको वडा नम्बर ५ र ६ को मत गणना अहिले भइरहेको पत्रकार पदम सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नम्बर ५ को २ सय मत गन्दा मेयरमा एमालेका उम्मेदवारले १ सय १३, उपमेयरमा १ सय २४ र वडा अध्यक्षमा १ सय २४ मत प्राप्त गरेका छन् ।
नेपाली काँग्रेसका उम्मेदवारले मेयरमा ८३, उपमेयरमा ७१ र वडा अध्यक्षमा ७३ मत पाएका छन् ।
वडा नम्बर ६ को २ सय मत गन्दा मेयरमा एमालेले १ सय १५, उपमेयरमा १ सय ३६ र वडाअध्यक्षमा १ सय ४ मत पाएको छ ।
नेपाली काँग्रेसले मेयरमा ८१, उपमेयरमा ७१ र वडाध्यक्षमा ९१ मत पाएको पत्रकार सिंहले बताउनुभयो ।
७ हजार ४ सय १७ मतगणना हुँदा नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार रङ्गबहादुर खातीको भन्दा ७ सय ८० मत बढी ल्याउनुभएको छ ।
प्रकाशित मिति: आइतबार, असार २६, २०७९, ०८:५६