काठमाडौँ । नेपालमा सबैभन्दा बढी उत्पादन हुने बालीमध्ये धान पहिलो नम्बरमा पर्छ । हरेक वर्ष ५० देखि ६० लाख मेट्रिक टनसम्म धान उत्पादन हुने गरेको छ ।
तर यसले बढ्दो मागलाई धान्न सकिरहेको छैन ।
जसका कारण अर्बौँ रुपैयाँको धान तथा चामल विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । नेपालीको भात खाने बानीको विकास कसरी हुँदैछ ? केही उदाहरण हेरौँः
उदाहरण १
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का धनिदत्त पन्त उमेरले ७० पुग्नुभयो । पन्त युवावस्थामा हुँदा मुख्य खानेकुरा हुन्थ्यो, कोदो, मकै, गहुँ ।
धान उत्पादन कम हुने र बाहिरबाट आयातका लागि समेत सडक सञ्जालले नछोएका कारण दार्चुलाबासी प्राय भात खाँदैनथे ।
तर अहिले गाउँ विकसित बन्यो । डाँडाडाँडामा सडक पुगे । गाउँ मात्र होइन, दार्चुलाबासीको जिवनशैली पनि फेरियो । हिजोआज धनिदत्तकै घरमा समेत कोदो, मकै र गहुँ प्रयोग घटेको छ ।
किन कि बिहानबेलुका नै खानामा चामल प्रयोग हुन्छ ।
पन्त भन्नुहुन्छ, ‘अहिले पसलपसलमा चामलका बोरा छन् । उब्जनी नभए पनि किनेरै चामल खाने प्रवृत्ति बढेको छ ।’
उदाहरण २
सल्यानका पुष्कर बस्नेतको घरमा केही वर्षअघिसम्म कम्तिमा एक छाक च्याँख्ला, ढिँडो अनिवार्य थियो ।
तर अहिले बिहानबेलुका नै खानामा चामल प्रयोग हुन्छ ।
‘मकै फल्यो भने पनि गाईबस्तुलाई खुवाउन प्रयोग हुन्छ ।’ सीआईएनसँग बस्नेतले भन्नुभयो, ‘हामीचाहिँ प्राय भात नै खाने गर्छौँँ ।’
उदाहरण ३
बाजुराबासीको ुख्य खेती गहुँ हो । तर कपुर शाही भन्नुहुन्छ, ‘बाजुराबासी गहुँमा भन्दा बढी चामलमा आकर्षित हुन थालेका छन् ।’
बाजुराकै राईबन बिश्वकर्माको घरमासमेत दैनिक खानामा चामलको प्रयोग बढेको छ ।
‘एक त पहिलेजस्तो गहुँ फल्नै छाड्यो । अनि गाउँमा बाटो आएपछि गाडीले सजिलै चामल ल्याइदिन्छ ।’ राईबन भन्नुहुन्छ, ‘पुगेसम्म भात नखाने घर भेटिँदैन होला ।’
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बाली सप्रेकै अवस्थामा समेत त्यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुन्छ ।
यो अभाव सधैँ चामलले पूर्ति गरिरहेको छ ।
बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने ज्ञान केन्द्रको भनाइ छ ।
उदाहरण ४
तीस वर्षअघिसम्म पाल्पाको पश्चिमी भेगका किसानको मुख्य बाली थियो कोदो ।
पूर्वी क्षेत्रमा पर्ने अर्चले, बाकामलाङ्, सहलकोट, झिरुबासलगायतका ठाउँका किसानको मुख्य खाद्यान्न बाली कोदो थियो ।
तर अहिले कोदो खेती पुरै विस्थापित हुने अवस्थामा छ ।
‘हामी सानै हुँदा गाउँमा १२ अन्न फलाउने चलन थियो । गहुँ, मकै, कोदो, फापर, जौ जस्ता चिज आफैँले फलाउँथ्यौँ । र त्यही खान्थ्यौँ ।’ एकजना किसान देवी पौडेल भन्नुहुन्छ, ‘अहिले कोदो त लगभग रोप्नै छोडीसके, अरु पनि त्यती फल्दैन ।’
धान चामलमा निर्भरता बढ्न थालेपछि अरु खाद्यान्नको उत्पादकत्वसमेत बढ्न नसकेको उहाँ बताउनुहुन्छ ।
माथि उल्लेखित केही प्रतिनिधि उदाहरण मात्रै हुन्, जसले नेपालीको भातप्रतिको आकर्षण देखाउँछ ।
नेपालमा बर्षेनि ८० लाख मेट्रिक टन चामल खपत हुने गरेको तथ्याङ्क छ ।
जुन दाना, बिउ र बियरलगायत मदिरा बनाउन प्रयोग हुन्छ । कोदो र मकै प्रशस्त उत्पादन हुने क्षेत्रमा समेत दैनिक खानामा चामलकै प्रयोग बढेको छ ।
भन्सार विभागका अनुसार १० महिनामा १७ लाख टन धान र २५ लाख टन चामल आयात भएको छ ।
जसका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।
नेपालमा भारत लगायत चीन, अमेरिका, दक्षिण कोरिया, भियतनाम, थाइल्यान्डलगायतका मुलुकबाट चामल आयात हुने गरेको छ । जसको ७० प्रतिशत मसिनो तथा बासनादार चामल छ ।
बदलिँदो विलासी जिवनशैलीले अर्थतन्त्रमा समेत चुनौती थपिरहेको एक जना पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटा बताउनुहुन्छ ।
कृषि मन्त्रालयका अनुसार नेपालमा कुल १४ लाख ७० हजार हेक्टर जग्गा धान खेतीका लागि योग्य छ । तर त्यसको ३० प्रतिशतमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ । बाँकी जमिनमा समेत सिँचाइ पुयाउनसके उत्पादन केही बढाउन सकिने विज्ञहरु बताउँछन् ।
‘बजारमा अरबका बादशाहले खाने चामल भनेर महँगोमा बिक्री भइरहेको छ । कुनै चामल युरोपका धनी मानिसले खाने भनिएको छ । ती कहाँबाट आउँछन् ?’ बास्कोटा भन्नुहुन्छ, ‘विभिन्न विज्ञापनले जसरी बाहिरबाट धान चामल ल्याउने र त्यही प्रयोग गर्ने चलन बढेको छ ।’
यो देशकै अर्थ व्यवस्थाका लागि हानिकारक भएको उहाँको ठहर छ ।
‘राइस स्ट्राटेजी फर नेपाल’ शीर्षकको एक शोधपत्रले सन् २०३५ सम्ममा नेपाललाई वार्षिक एक करोड २ लाख ६० हजार मेट्रिक टन चामल आवश्यक पर्नसक्ने अनुमान गरेको छ ।
तर हालको उत्पादकत्वले त्यो आँकडा भेटाउन मुस्कील देख्नुहुन्छ, बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठ ।
‘हामी धान, चामलमा आत्मनिर्भर हुने बाटो भनेको चैते धानको क्षेत्र विस्तार हो ।’ सीआईएनसँग श्रेष्ठले भन्नुभयो, ‘अहिले एक लाख २५ हजार हेक्टरमा हुँदै आएको चैते धान खेतीलाई दुई लाख ५० हजार हेक्टरमा विस्तार गर्न सकियो भने तत्कालका लागि समस्या टार्न सक्छौँ ।’
तर सिँचाइ अभावका कारण यो आँकडा भेटाउन तत्काल मुस्किल देखिने उहाँले बताउनुहुन्छ ।
कृषि मन्त्रालयका अनुसार नेपालमा कुल १४ लाख ७० हजार हेक्टर जग्गा धान खेतीका लागि योग्य छ ।
तर त्यसको ३० प्रतिशतमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ । बाँकी जमिनमा समेत सिँचाइ पुयाउनसके उत्पादन केही बढाउन सकिने विज्ञहरु बताउँछन् ।
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९, ०७:४४