काठमाडौँ । रिक्त भएको साढे २ वर्षपछि प्रतिनिधि सभाले आज उपसभामुख पाउँदै छ ।
उपसभामुख छान्नका लागि आज निर्वाचन हुँदैछ ।
दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने’ कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
उपसभामुखका लागि सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका सांसद पुष्पा भुसालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी रहनुभएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सांसद विद्या भट्टराई उपसभामुखको उम्मेदवार बन्नुभएको छ ।
भट्टराइको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहनुभएको छ ।
उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीमा व्यवस्था छ ।
हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो । नेकपा एमालेसँग ९८ सांसद छन् भने सत्तारुढ गठबन्धनसँग १ सय ५४ सांसद छन् ।
त्यसमा १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टीले पनि साथ दिने गठबन्धनका नेताहरूले दाबी गरे पनि लोसपाले भने कुन उम्मेदवारलाई साथ दिने भन्ने आज दिउँसो २ बजे सचिवालय बैठक बसेर निर्णय गर्ने बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९, ०७:४६