राजन महतारा क्षेत्री , हजुरको रेडियो, रामेछाप
रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ सल्लेमा विद्यालयको भवन नहुँदा विद्यार्थी खुल्ला आकासमुनी बसेर पढ्न बाध्य भएका छन् । केवलेश्वर आधारभूत विद्यालयका विद्यार्थी २०७२ को भूकम्पभन्दा पछि खुल्ला आकासमुनि बसेर पढ्न बाध्य भएका हुन् । भूकम्पले भवन ध्वस्तभएदेखि हालसम्म पनि विद्यालय पुर्ननिर्माण हुन नसक्दा खुल्ला आकासमुनि बसेरै पढ्नु परेको हो ।
भूकम्पपछि चाइल्ड फण्डले २ कोेठे बाँसको भाटाले बारेर बनाएको सामान्य भवन पनि जीर्ण भएको छ । अस्थायी टहरा जीर्ण भएपछि बाहिरै डेस्क, बेन्च राखेर पठनपाठन गराउने गरिएको छ । शिशुदेखि कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा जम्मा १८ जना विद्यार्थी छन । सबै कक्षाको विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद घिमिरेले बताउनुभयो ।
उहाँले भन्नुभयो “हाम्रो विद्यालय अर्को विद्यालयसँग गाभिन्छ होला भनेका थियौँ तर गाभिएन, भवन बनाउनको लागि जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा) रामेछापमा पनि ध्यानकर्षण गरायौँ, विभिन्न सङ्घसंस्था सबैसँग सहयोग माग्यौ तर पनि कसैले सहयोग गरेनन ।”
विद्यालयमा २ जना स्थायी, एकजना राहत अनुदान गरी ३ जना शिक्षक र एक जना सहयोगी कर्मचारी कार्यरत छन् । विद्यालयका शिक्षक विनोद घिमिरेका अनुसार पठनपाठनमा निकै समस्या छ । साना बालबालिका जाडोमा थरथर काम्दै र गर्मीमा तातोघामको रापमा सेक्किदै अध्यन गर्न बाध्य छन् ।
एकै ठाउँमा सबै विद्यार्थीलाई राखेर पढाउँदा हो–हल्लाले विद्यार्थीलाई पढाइमा ध्यान केन्द्रित गराउन निकै समस्या भएको उहाँले बताउनुभयो । वडा नम्बर ८ का अध्यक्ष केदार कार्कीले विद्यालय पुननिर्माण गर्न आफनो वडा कार्यलयले ८ लाख रुपैयाँ रकम विनियोजन गरेको जानकारी दिनुभयो ।
वडा कार्यलयले पुननिर्माण गर्ने विद्यालय भवनको काम अगाडि बढिसकेको उहाँले बताउनुभयो । भवन बनाउने स्थानको जग्गा सम्याउने काम भइसकेकाले अबको केही महिनामै विद्यालयको आफ्नै भवन हुने उहाँको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, फागुन ६, २०७५, ०८:५४