काठमाडौँ । बारा र पर्साका आँधीहुरी प्रभावितका लागि आवास निर्माणको काम बिभिन्न १२ स्थानबाट एकसाथ सुरु गरिएको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायत सङ्घीय सरकारका अन्य ९ मन्त्रीले आवास निर्माण कार्यक्रमको आज शिलान्यास गरेका हुन् ।
फेटा गाउँपालिका ६ पुरैनियामा उपप्रधान एवं रक्षामन्त्री पोखरेलले शिलान्यास गर्नुभयो भने परवानीपुर ४ चैनपुरमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, प्रसौनी गाउँपालिका ४ खटुवाजग्दीमा गृहमन्त्री रामबहादुर थापा, वीरगञ्ज महानगरपालिका २२ जगन्नाथपुरमा ऊर्जामन्त्री वर्षमान पुनले शिलान्यास गर्नुभएको छ ।
सुवर्ण गाउँपालिका ४ हर्दियामा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, पचरौता नगरपालिका ७ बेनौलीमा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले आवास निर्माणका शिलान्यास गर्नु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
फेटा गाउँपालिका ४ भलुहीमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, वीरगञ्ज महानगरपालिका ५ उदयपुर घुर्मीमा खानेपानीमन्त्री बिना मगर, फेटा गाउँपालिका ४ भरवलीयामा सहरी विकासमन्त्री मोहम्मद ईस्तियाक राई, महागढीमाई नगरपालिका ७ तेलगाईमा भूमी व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले शिलान्यास गर्नुभयो ।
कलैया उपमहानगरपालिका १३ छोट्कीफुलबारिया र देवताल गाउँपालिका ७ रामपुर्वामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आवास निर्माणको शिलान्यास गर्नु भएको छ ।
पर्सामा ९१ घर र बारामा १३ सय ६२ घर गरी जम्मा १४ सय ५३ घर निर्माणका लागि विभिन्न १२ ठाउँमा नेपाली सेनाका इन्जिनियरहरूलगायत २३ सय ३२ जना जनशक्ति परिचालित भएको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
तीन चरणमा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको हो । पहिलो चरणमा ४ सय ८२ घरहरू जेठ २६ गतेभित्र, दोस्रो चरणमा ४ सय ८२ घर असार २८ गतेभित्र र तेस्रो चरणमा ४ सय ८९ घर साउन ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको नेपाली सेनाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६, १६:२४