काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड तीनदिने भारत भ्रमणमा जानुहुने भएको छ ।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा आज दिउँसो १ बजे प्रचण्ड नयाँ दिल्ली जान लाग्नुभएको हो ।
नेपालमा नागरिकतासम्बन्धी विधेयक अघि बढ्नु, प्रधानमन्त्री पत्नी आरजु राणा भारतमै रहनु, चिनिया नेताको हालैको नेपाल भ्रमणलगायतका कारण देखाउँदै प्रचण्डको भारत भ्रमणलाई सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्याख्या गरिएको छ ।
निजी सचिवालयले भने प्रचण्डको भारत भ्रमण पूर्वनिर्धारित भएको बताएको छ ।
'डेढ महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतकोतर्फबाट निम्तो दिएको दिनुभएको थियो । जुलाइको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए पनि भाजपाका अध्यक्ष जगतप्रकाश नड्डाले नै निम्तो दिएपछि औपचारिकरुपमा भ्रमण तय भएको हो ।' प्रचण्डको निजी सचिवालयले भनेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेट गरेर प्रचण्ड आगामी साउन १ गते स्वदेश फर्किने जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९, ०८:१३