काठमाडौँ । ललितपुर सुनाकोठीका सुदर्शन सन्जेलको खानाको परिकारमा कुरिलो पनि हुन्छ ।
हिजोआज कुरिलोको भाउ पनि सस्तिएको छ । त्यसकारण कम्तिमा तीन छाक कुरिलो पाक्ने सन्जेल बताउनुहुन्छ ।
‘कुरिलो त धेरै पोषिलो हुन्छ। मौसममा सस्तो हुन्छ,बेमौसममा महङ्गो तर पनि खान्छु।’सुदर्शनले भन्नुभयो ।
नेपालमा यसको व्यावसायिक खेती हुन थालेपछि कुरिलो सबैको भान्सामा पुग्ने गरी सरल, सस्तो भएको उहाँको बुझाइ छ ।
काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजारसहित अरु स–साना तरकारी बजारमा मौसम सुरु भएसँगै कुरिलोको बिक्रीका लागि दिनहुँजसो राख्ने गरिएको छ ।
बेमौसमको समयमा नेपाली बजारमा कुरिलोको मूल्य प्रतिकिलो नौ हजार रूपैँयासम्म पनि पुगेको थियो । तर प्रशस्त मात्रामा प्रोटिन, भिटाभिन, फाइबर, क्याल्सियमलगायत पौष्टिक तत्व पाइने भएकाले त्यतिबेला पनि उपभोक्ताले महङ्गो मूल्य तिरेका थिए ।
पहिले जङ्गलमा पाइने कुरिलो र यसको जरा दूध उत्पादन बढाउन विशेष गरि दुहुना गाईभैँसीलाई खुवाउने गरिन्थ्यो ।
अहिले कुरिलो बारीमा पनि व्यावसायिक रूपमै खेती हुन थालेको छ ।
२० वर्षदेखि तरकारी बिक्री गर्दै आउनुभएका गणेश अर्याल कुरिलोको फाइदाबारे धेरै प्रचार भएर पनि पछिल्लो समय यसको उपभोक्ता बढ्दै गएको अनुमान लगाउनुहुन्छ ।
कुपोषणबाट हुने मृत्युदर कम गराउने भएकाले देशभरका आयुर्वेदिक स्वास्थ्य केन्द्रबाट बच्चा जन्मेदेखि ६ महिनासम्मका बच्चाका आमाहरूका लागि निशुल्क कुरिलोबाट बनेका औषधि वितरण
‘कालिमाटीमा अहिले जता हेर्यो कुरिलो, कुनै बेला नौ हजारसम्म पुगेको कुरिलो हिजोआज पाँच सयमा बिक्री हुँदैछ ।’ अर्यालले भन्नुभयो ।
विशेषगरि काठमाडौँ, ललितपुर, भक्तपुरमा उत्पादन गरिएका कुरिलो उपत्यकाका तरकारी बजारमा बिक्री वितरण हुने व्यवसायीहरू बताउँछन् ।
रामेछापका हरि पौडेलले कोरोना महामारीपछि लकडाउनका समयमा एक पाउ कुरिलोको ९ सय रुपैयाँ अर्थात प्रति किलो ४ हजार पाँच सय रुपैयाँसम्म बिक्री गर्नुभयो ।
‘जसरी अरु तरकारी किन्न आउँछन् त्यसरी नै त आउँदैनन्, महत्व बुझेकाहरूले कुरिलो किन्छन् ।’ पौडेलले थप्नुभयो ।
कुरिलोको व्यावसायिक खेतीमा कमि
कुरिलोप्रति उपभोक्ताको आकर्षण बढेको छ तर खेती गर्ने क्षेत्रफल अनि किसान बढ्न सकेका छैनन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा १० वर्षअघि देशभर एक सय ३७ हेक्टर क्षेत्रफलमा कुरिलो खेती हुने गरेको थियो ।
अहिले कुरिलो खेती हुने क्षेत्रफल २१ हेक्टरले मात्रै बढेको छ ।
उत्पादन पनि उत्साहप्रद तरिकाले बढेको छैन । १० वर्षअघि देशभित्र एक हजार ६३ मेट्रिक टन उत्पादन भएकोमा १० वर्ष पछि जम्मा एक हजार एक सय ६६ टन मात्रै कुरिलो उत्पादन भएको छ ।
आयात प्रतिस्थापन गर्नुपर्ने तरकारीको सूचीमा नपरेका कारण पनि कुरिलो खेतीको विस्तारमा सरकारले चासो देखाएका छैन ।
‘पौष्टिक तत्वको हिसाबले त कुरिलो कम प्राथमिकतामा पर्दैन तर यसको माग केही वर्षदेखि मात्रै हुँदै आएकाले खेती विस्तारकै लागि प्राथमिकतामा नपरेको हुनसक्छ ।’ राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र कीर्तिपुरका प्रमुख बासुदेव काफ्लेले भन्नुभयो ।
केन्द्र मातहतको तरकारी बाली विकास केन्द्र खुमलटारले भने कुरिलोको बिरुवा उत्पादन गरि प्रति बिरुवा आठदेखि १२ रूपैयाँमा बिक्री गरिरहेको काफ्लेको भनाइ छ ।
तराईका जिल्लादेखि हिमाली भेगसम्म पनि यसको खेती गर्न सकिन्छ । नेपालमा कुरिलोको खपत धेरै छ, तर उत्पादन छैन । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मात्रै ११ हजार पाँचसय १३ किलो कुरिलो आयात भएको छ ।
कुरिलो हाल बागमती प्रदेशमा सबैभन्दा बढी ७४ हेक्टरमा,प्रदेश एकमा ५८ हेक्टरमा,गण्डकीमा १३ हेक्टर क्षेत्रफलमा कुरिलो खेती भइरहेको छ ।
लुम्बिनी प्रदेशमा ११ हेक्टरमा र कर्णालीमा दुई हेक्टरमा कुरिलो खेती भइरहेको छ ।
मधेस र सुदूरपश्चिम प्रदेशमा भने यसको खेती भएको छैन ।
भान्छामा तरकारीको रूपमा कुरिलोको टुसा अनि यसको जराको धुलो वा रसलाई औषधिको रूपमा प्रयोग गर्न सकिने जानकारहरू बताउँछन् ।
पोषणका लागि कुरिलो
प्रसुति भएपछि निरन्तर रूपमा ३ देखि ६ ग्राम कुरिलोको जराबाट बनेको धुलो वा ताजा जराबाट बनाइएको रस १० देखि २० मिलिलिटर बिहान र बेलुका एक गिलास मन तातो दूधसँग सेवन गरे प्रशस्त मात्रामा दूध उत्पादन हुने आयुर्वेदिक चिकित्सकहरू बताउँछन् ।
यसले गर्दा आमा र बच्चा स्वस्थ हुने अनि कुपोषणबाट हुने मृत्युदर कम गराउने भएकाले देशभरका आयुर्वेदिक स्वास्थ्य केन्द्रबाट बच्चा जन्मेदेखि ६ महिनासम्मका बच्चाका आमाहरूका लागि निशुल्क कुरिलोबाट बनेका औषधि वितरण भइरहेको वरिष्ठ कविराज निरीक्षक बिमलकुमार श्रेष्ठ बताउनुहुन्छ ।
यसबाहेक रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पनि कुरिलो सेवन गर्न सकिन्छ ।
कुरिलो खेतीको सम्भावना नेपालमा उच्च छ ।
तराईका जिल्लादेखि हिमाली भेगसम्म पनि यसको खेती गर्न सकिन्छ । नेपालमा कुरिलोको खपत धेरै छ, तर उत्पादन छैन ।
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मात्रै ११ हजार पाँचसय १३ किलो कुरिलो आयात भएको छ ।
देशभर खेतीको सम्भावना भए पनि लगानी नहुँदा कुरिलो आयातमा नै वार्षिक लाखौँ रकम बाहिरिने गरेको छ ।
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९, ०७:२९