काठमाडौँ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक पारित भएसँगै अब इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्सको जाँच दिनुपर्ने भएको छ ।
प्रतिनिधिसभाबाट नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक आज सर्वसम्मतिले पारित भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयकमाथि छलफल गरियाेस् भनी प्रस्ताव राख्नुभएकाे थियो ।
छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा दिँदै यातायातमन्त्री राईले लाइसेन्स लिन परीक्षा अनिवार्य गरिएपछि गुणस्तरमा उठेको प्रश्नको स्वतः निरुपण हुने बताउनुभएको छ ।
विधेयकले इन्जिनियरिङ परिषद्लाई सातै प्रदेशमा शाखा कार्यालय खोल्न पाउने र अनलाइनमार्फत सेवा प्रदान गर्न सक्नेलगायतका सुविधा दिएको छ ।
वि.सं. २०७६ जेठ २९ गते दर्ता भएको उक्त विधेयक राष्ट्रियसभाबाट २०७६ पुस १४ गते पारित भएपछि प्रतिनिधिसभामा आएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९, १५:१२