काठमाडौँ । अनधिकृत व्यक्तिको सहभागितामा करको दर हेरफेर भएको वा नभएको भन्ने बारे अध्ययन गर्न गठित संसदीय विशेष छानबिन समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्दैछ ।
केही बेरमा सिहंदरवारमा बस्ने समितिको बैठकमा उपस्थितिका लागि शर्मालाई हिजो नै समितिले अनुरोध गरेको थियो ।
चालु आर्थिक वर्षको बजेट बनाउँदा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति राखेर करको दर हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ ।
आरोपको शर्माले खण्डन गर्दै आए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत सर्वत्र आलोचना भएपछि उहाँले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
समितिको १० दिने कार्यावधि पनि आज सकिँदैछ । काम नसकिएको भन्दै समय थपका लागि सभामुख अग्नी सापकोटासँग अनुरोध गर्ने तयारी भएको समितिका संयोजक लक्ष्मणलाल कर्णले सीआईएनसँग बताउनुभयो ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
कति दिन समय थप्ने भन्ने बारेमा टुङ्गो लागेपछि सभामुखले संसद बैठकमा यस बारेमा जानकारी दिनुहुने छ ।
संसदीय विशेष छानबिन समितिमा सांसद कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य रहनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९, ०८:५२