१४ बर्षको उमेरमा पहिलो पटक छाउ (महिनावारी) भएपछि तुलसा जोशी गोठमा बस्न थाल्नुभयो । विवाह नहुँदै गोठमा बस्ने गरेको अभ्यासले विवाहपछिको २० बर्षसम्म निरन्तरता पायो । अछामको चौरपाटी गाउँपालिकाका जोशीलाई छाउ गोठमा बस्न श्रीमान भरतराज जोशीले बाध्य पारेको होइन । तर, घरभित्र बस्न सहयोग पनि गर्नुभएन ।
तीनै जोशी दम्पत्ति अहिले छाउपडी भएका बेला घरमा बस्नुहुन्छ । जोडी समुहको छलफलपछि छाउ भएका बेला घरमै बस्ने तुलसाको चाहनामा श्रीमानले साथ दिएपछि छाउगोठ त्याग्न कुनै समस्या परेन ।
चौरपाटी गाउँपालिका वडा नं.४ पायलको देवलढुङ्गाका जोडी समूहको छलफलपछि छाउगोठ त्याग्दै घरमा बस्ने महिलाहरु थपिदै गएका छन् । ‘छाउपडी भएका बेला घरमा बस्ने आँट थिएन’ तुलसाले भन्नुभयो, ‘घरको मूलीका रुपमा रहेका श्रीमानले नै साथ दिएपछि घरमा बस्न सहज भएको छ ।’
गोठमा बस्दा सधैं सर्पले टोक्छ कि भन्ने डरमा छाउ बस्न बाध्य महिलाहरु घरमा बस्न पाएपछि ढुक्कले सुत्न थालेका छन् ।
गोठमा बस्दा सधैं सर्पले टोक्छ कि भन्ने डरमा छाउ बस्न बाध्य महिलाहरु घरमा बस्न पाएपछि ढुक्कले सुत्न थालेका छन् । छुई पालो (महिनावारीको समय) आएपछि सुत्नकै डर हुन्थ्यो,’ तीन छोरा र दुई छोरीकी आमा जोशीले भन्नुभयो, ‘घरमा सुत्दा देउता रिसाउँछन् भन्ने गलत रैछ ।’ अहिलेसम्म देउता रिसाएका छैनन् ।’
वाक नेपालले निष्पक्ष तथा समतामुलक न्यायमा पहुँच सुदृढीकरण परियोजना अन्र्तगत जोडी समुहको अभ्यास गराइरहेको छ । पहिलो २५ जनाको महिला समुह बन्छ । तीनैमध्ये सबैभन्दा बढी समस्या भएका ५ जना महिलाको छुट्टै समुह बनाइन्छ । पाँच महिलाका लागि तीनै महिलाका श्रीमानलाई राखेर १० जनाको जोडी समुह गठन गरिन्छ । महिला जस्तै २५ जना पुरुषको पनि समुह बनाएर त्यहाँबाट पनि ५ जना पुरुष छानेर अर्को १० जनाको जोडी समुह बनाइन्छ ।
पहिला समुहमा रहेकाहरुलाई घरभित्र बस्ने वातावरण बनाउने र पछि त्यही समुह छाउपडि कुप्रथा विरुद्ध सक्रिय रहने गर्छ । जोडी समुहका पुरुष सदस्य रुद्रबहादुर कुँवर छाउगोठ त्याग्दा पुरुष खुशी र महिला सुरक्षित भएको बताउनुहुन्छ । ‘यो त बार्ने कुरा रहेनछ,’ उहाँ भन्नुहुन्छ ‘बरु सरसफाइमा ध्यान दिनुपर्ने रहेछ ।’
महिनावारी भएका महिलाले दही, दूध खाएमा र घर तथा भाँडाकुडा छोएमा देउता रिसाउँछन् भन्ने जस्तो अन्धविश्वासलाई समेत तोड्दै गएको उहाँ बताउनुहुन्छ ।
पहिला समुहमा रहेकाहरुलाई घरभित्र बस्ने वातावरण बनाउने र पछि त्यही समुह छाउपडि कुप्रथा विरुद्ध सक्रिय रहने गर्छ । जोडी समुहका पुरुष सदस्य रुद्रबहादुर कुँवर छाउगोठ त्याग्दा पुरुष खुशी र महिला सुरक्षित भएको बताउनुहुन्छ ।
श्रीमानले समेत साथ दिएपछि महिनावारी भएका बेला बस्न बनाएका गोठहरु अहिले पुरुषको सक्रितामा भत्काइएको स्थानीय चन्दा भूल बताउनुहुन्छ । ‘पहिले बुढा (श्रीमान)ले पनि घरमै बस्छु भन्दा मान्दाइनछिया,’ ४५ बर्षका भूलले भन्नुभयो ‘जोडी समुहमा बसेर छलफल भएपछि उहाँले नै घरमा बस्न पलह गर्नुभयो अहिले घरमा नै बस्ने गरेकी छु ।’
छाउगोठमा बस्दा वर्षायामाको समयमा चुहिने गोठ र पुष माघ महिनाको जाडोले सताउने समस्याबाट पनि महिलाहरुले मुक्ति पाएका छन् । घरमा बसेदेखि पहिलेको चिसोले हातखुट्टा पोल्ने, टाउको दुख्ने समस्या हटेको भूलको अनुभव छ ।
अछामको बान्नीगढी गाउँपालिकाका सरस्वती भूल जीवनका २५ बर्ष छाउपडी गोठमा नै बस्नुभयो । झरी, घाम, हावाहुरी कति कष्ट सहनुप¥यो त्यो अहिले उहाँ सम्झिन पनि चाहनु हुन्न ।
‘महिला स्वास्थ्य सव्यंसेविका भएर केही थाहा थियो तर घरपरिवार त्यसमा पनि सासुआमाका कारण बस्न सक्ने अवस्था थिएन’ भूलले भन्नुभयो, ‘जोडी समुहको छलफलपछि मलाई घरमा पनि श्रीमानको साथ सहयोग भयो, अहिले म मात्रै होइन छोरी बुहारीलाई पनि घरमै बसाउने गरकी छु । ’
महिनावारी भएका बेला घरमा बस्दा देविदेवता रिसाउने र अनिष्ट हुने डरले छाउ गोठमा बस्नेहरु सबैभन्दा धेरै छन् । जोडी समुहको छलफलले त्यसलाई चिर्ने काम गरेको वाक नेपालका परियोजना अधिकृत अरुण पाठकको भनाइ छ ।
गाउँपालिकाको छुट्टै अभियान
छाउ गोठमा बस्ने परम्परा हटाउन र महिलालाई घरमा नै राख्न स्थानीय सरकारले पनि योजनावद्ध ढंगले काम गर्न थालेका छन् । स्थानीय सरकारहरुले पहिला जनचेतना जगाउने र सँगै नीतिगत रुपमा बाध्नेगरि कार्यक्रम ल्याउन थालेका हुन् ।
महिनावारी भएको बेला महिलालाई छाउगोठमा राख्ने परिवारलाई वडाबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित गर्न सक्ने कार्यक्रम ल्याउन लागेको चौरपाटी गाउँपालिकाका उपाध्यक्ष माया कुँवरले बताउनुभयो ।
‘अहिले गाउँपालिका प्रचारात्मक कार्यक्रम गर्दै छ’ उपाध्यक्ष कुँवरले भन्नुभयो, ‘यदी अझै पनि छाउगोठमा बस्न नछोडे गाउँपालिकाका सम्पूर्ण सेवा सुविधा कटौति हुनेछ ।’
जिल्लाको साविकको भागेश्वर गाविसलाई सुदूरपश्चिमकै पहिलो गाविसको रुपमा छाउपडी गोठमूक्त गाविस घोषणा गरिएको थियो । जिल्लाका साविकका ३१ गाविसलाई पूर्णरुपमा छाउपडी गोठमूक्त घोषणा गरिएको छ । तर छाउगोठमा ज्यान जाने क्रम रोकिएको छैन ।
महिनावारी भएको बेला महिलालाई छाउगोठमा राख्ने परिवारलाई वडाबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित गर्न सक्ने कार्यक्रम ल्याउन लागेको चौरपाटी गाउँपालिकाका उपाध्यक्ष माया कुँवरले बताउनुभयो ।
अछाममा छाउ भएकै कारण गोठमा बस्दा २०६३ साल यता १३ जना किशोरी तथा महिलाले ज्यान गुमाइसकेका छन् । भदौ १ गतेदेखि लागू भएको मूलुकी अपराध संहिता ऐन २०७४ मा रजस्वला वा सुत्केरी भएका महिलालाई छाउगोठमा राख्न नपाईने उल्लेख छ ।
ऐनमा भनिएको छ, ‘महिनावारी र सुत्केरी अवस्थामा महिलालाई कुनै किसिमको भेदभाव गर्नु हुँदैन, यस्तोे किसिमको भेदभाव गर्नेलाई तीन महिना कैद र तीन हजार जरिवाना वा दुवै सजाय हुनेछ ।’
सरकारले छाउगोठमा बस्ने र बस्न लगाउनेलाई कानूनी कारबाही गर्ने कानुन बनाएसँगै महिलाहरु छाउगोठ भत्काउँदै अहिले सुरक्षित रुपमा घरमा बस्ने क्रम पनि बढ्दै गएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६, १०:५१