काठमाडौँ । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने बारेमा ४ दिनअघि नै अमेरिकालाई जानकारी गराइसकेको दावी गरेको छ ।
एक महिनाभन्दा धेरै समय अघि नै एसपीपी कार्यक्रममा सहभागी नहुने निर्णय सरकारले मन्त्रिपरिषदबाट गरेको थियो ।
आज बसेको प्रतिनिधिसभा बैठकमा एसपीपीको विषयमा संसदलाई जानकारी दिँदै परराष्ट्रमन्त्री नारायण खड्काले यही साउन ९ गते नै अमेरिकी सरकारलाई लिखित जानकारी गराएको बताउनुभयो ।
‘एसपीपीलाई अगाडि नबढाउने मन्त्रीपरिषद्बाट निर्णय भइसकेको परिप्रेक्ष्यमा परराष्ट्र मन्त्रालयले कार्यान्वयन गरेको व्यहोरा संसदलाई जानकारी गराउन चाहन्छु । यस सम्बन्धमा सांसदहरुबाट व्यक्त भएका धारणाप्रति आभार व्यक्त गर्न चाहन्छु । साउन ९ गते अर्थात् २५ जुलाई २०२२ का दिन कुटनीतिक माध्यमबाट नेपालले एसपीपी अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकार समक्ष पठाइसकिएको छ ।' मन्त्री खड्काले भन्नुभयो ।
मन्त्रिपरिषद्ले गरेको निर्णयका विषयमा सांसदहरुले शङ्का व्यक्त गर्नु अस्वाभिक भएको टिप्पणी उहाँले गर्नुभयो ।
सांसद, सभामुख तथा विभिन्न समितिहरुले समेत जानकारी माग गरेकाले संसदमा जानकारी गएको उहाँको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९, १३:५१