काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले नेपाल कोरोनाको चौथो लहर र मङ्किपक्स भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएको छ ।
नेपाल स्थित विश्व स्वास्थ्य सङ्गठनले नेपाल कोरोनाको चौथो लहर र मङ्किपक्स भाइरसको उच्च जोखिममा रहेको बताएको हो ।
सङ्गठनका प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवले पछिल्लो समय नेपालमा जुन गतिमा कोरोना सङ्क्रमित थपिँदै छन्, त्यसले चौथो लहरको जोखिम बढाएको भन्दै आफूहरुले कोरोना महामारी र मङ्किपक्सको जोखिमलाई नजिकबाट नियालिरहेको बताउनुभयो ।
उहाँले दक्षिण पूर्वी एशियामै पहिलोपटक भारतमा मङ्किपक्स भाइरसबाट एकजनाको मृत्यु भएको र सङ्क्रमण पनि बढ्दै गएकाले नेपाल उच्च जोखिममा रहेको धारणा राख्नुभयो ।
डा. पाण्डवले आपतकालीन र प्रकोपको समयमा सञ्चारकर्मी तथा सञ्चारमाध्यमको भूमिका निकै नै महत्वपूर्ण हुने उल्लेख गर्दै भन्नुभयो, 'यस्तो समयमा सञ्चारकर्मीहरुले रोगको पहिचान, रोकथाम र नियन्त्रणमा सही जानकारी र सल्लाह प्रदान गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।'
स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजना तथा विश्व स्वास्थ्य सङ्गठन नेपालको प्राविधिक सहयोगमा हिजो काठमाडौंमा आयोजित ‘कोभिड–१९ को महामारी तथा मङ्किपक्सको वर्तमान अवस्था र तयारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले फेरि विश्वभर नै कोभिड– १९ को सङ्क्रमण र मृत्युको सङ्ख्या बढेको उल्लेख गर्दै गत ६ हप्तामा विश्वव्यापी साप्ताहिक सङ्क्रमणको सङ्ख्या लगभग दोब्बर भएको बताउनुभयो ।
कार्यक्रममा सङ्गठनका स्वास्थ्य आपताल कार्यक्रमका डा.एलिसन गोकोटानोले विश्वका विभिन्न मुलुकमा देखिएको मङ्किपक्स भाइरसको सङ्क्रमण अधिकांश समलिङ्गी समुदायका रहेको भए पनि यो सबै समुदायका व्यक्तिमा सर्ने भएकाले सङ्गठनले यसलाई विश्व स्वास्थ्य आपतकालको रुपमा घोषणा गरेको बताउनुभयो ।
उहाँले मङ्किपक्स विशेषगरी १८ देखि ४४ वर्ष उमेर समूहका व्यक्तिहरूमा देखिएको भए पनि यसले सबै उमेर समूहलाई प्रभावित गराउने उल्लेख गर्नुभयो ।
उहाँले हालसम्म विश्वका ४० भन्दा बढी मुलुकमा गरी २४ हजारभन्दा बढीमा मङ्किपक्स भाइरसको सङ्क्रमण देखिएको र पछिल्लो समय भारतमा पनि सङ्क्रमण देखिन थालेकाले नेपालमा जोखिम बढेको हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो ।
सङ्गठनको खोप कार्यक्रमका प्रमुख डा.विनोद बुराले नेपालमा हालसम्म बुस्टर मात्रा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या २५ प्रतिशत मात्रै रहनु चिन्ताको विषय भएको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले मङ्किपक्सको उपचार गर्ने डेडिकेटेड अस्पताल तोकिएको र १६ जना छाला तथा यौन रोग विषेशज्ञलाई विज्ञको रुपमा खटाइएको जानकारी दिनुभयो ।
उहाँले कोरोना महामारीको जोखिम कायमै रहेकाले कोरोनाको बुस्टर मात्रा लगाउन सबैलाई आग्रह गर्दै खोपको अभावभन्दा पनि माग नभएको हुँदा त्यसतर्फ जागरुक बनाउन आवश्यक रहेको बताउनुभयो ।
कोरोनाविरुद्धको खोपको प्रभावकारिता राम्रो भएकाले साउन लागेदेखि नेपालमा बिहीवारसम्म मृत्यु भएका १७ जनामध्ये १३ जना खोप नलगाएका व्यक्तिहरू रहेको भन्दै डा.बुराले कोरोनाविरुद्धको खोप लगाउनुपर्ने विषयमा सञ्चार माध्यमले थप जनचेतना फैलाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मङ्किपक्स भाइरसविरुद्धको खोप विकासको विषयमा के हुँदैछ भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले हालसम्म मङ्किपक्स भाइरसविरुद्धको छुट्टै खोपको विकास नभए पनि दादुराविरुद्धको खोप विश्वका केही मुलुकमा दिइने गरेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले बढ्दो कोरोनाको जोखिम र मङ्किपक्सको जोखिमलाई ध्यानमा राखेर सरकारले मुख्य १७ नाकामा स्वास्थ्य जाँचलाई कडाइ गरेको बताउनुभयो ।
उहाँले देशका १६ वटा ठूला सरकारी अस्पताललाई मङ्किपक्सको उपचार गर्ने डेडिकेटेड अस्पताल तोकिएको भन्दै त्यहाँका १६ जना छाला तथा यौन रोग विषेशज्ञलाई विज्ञको रुपमा खटाइएको पनि बताउनुभयो ।
उहाँले हाल रहेका अस्थायी हेल्थ पोस्टहरूमा स्थायी दरबन्दी कायम गरी कर्मचारीलाई नियुक्त गर्ने र आफ्नै भवनमा सेवा दिने गरी काम अघि बढेको पनि जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, साउन २१, २०७९, १३:५२