काठमाडौँ । काठमाडौँको गौशलामा रहेको बसपार्कको हिलाम्य चौरको एउटा कुनामा बाँसका भाटा र त्रिपालले छाएको टहरो छ ।
त्यही टहरोमा बस्छन्, नवलपरासीबाट न्यायको खोजीमा राजधानी आएका मिटरब्याज पीडित ७५ जना किसान ।
झमझम् दर्किरहने पानीको झरी भल बनेर त्रिपाल भित्र पस्छ र ओछ्यान भिजाउँछ । मिटरब्याजी पीडितहरु त्यही ओछ्यानमा रात कटाउँछन् ।
रातभरि आँखा झिपिक्क हुँदैन, कारण हो अन्यायमा परेको मनको छटपटी । मिटर ब्याजीबाट पीडित बन्नुभएका टिकाप्रसाद दमाई न्याय पाउने आशा गरे पनि सरकारले कुनै पहल नगरेको बताउनुहुन्छ ।
गत असारमा नवलपरासी सुस्ताका मिटर ब्याज पीडितहरूले न्याय माग्दै काठकाडौँको मााइतिघरमा १४ दिन धर्ना दिएका थिए ।
धर्नापछि गृह मन्त्रालयले कानुनी पक्रिया अघि बढाउन सहयोगका लागि जिल्लाका सबै संयन्त्रलाई निर्देशन पनि दिएको थियो ।
तर गृहको निर्देशन अनुसार काम भएन र फेरि काठमाडौं आउनुप¥यो भन्नुहुन्छ एक जना पीडित हसिना खातुन ।
नवलपरासीका चार गाउँपालिका र एक नगरपालिका गरी करिब २ सय नागरिक मिटर ब्याजका कारण पीडित छन् ।
पीडितमध्ये अधिकांशले २० गुणा बढी रकम साहूलाई बुझाएको तर जग्गा फिर्ता नपाएको गुनासो सुनाउँछन् । कतिपयको साहूले जग्गा नै बेचिदिएको अर्का मिटर ब्याज पीडित उर्मिला केवतको भनाइ छ ।
धर्नाका लागि आएका अधिकांश पीडिहरू जेष्ठ नागरिक छन् भने केही महिला पनि छन् ।
एक महिनाअघि काठमाडौँ आएर आन्दोलन गरेका मिटरव्याज पीडितहरूलाई सरकारले न्याय दिलाउने आश्वासन दिएको थियो र उनीहरू आशावादी पनि थिए । तर अपेक्षा अनुसार कुनै प्रगति नभएपछि पीडितहरू पुनः न्याय खोज्दै काठमाडौँ आइपुगेका छन् ।
मिटर ब्याजकै तनाबका कारण ५५ वर्षका मुही चमारले चार महिना अघि श्रीमान गुमाउनुपर्यो ।
मुही पनि न्याय खोज्दै काठमाडौ आउनुभएको छ ।
मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिको अगुवाइमा भएको धर्नामा पीडितहरूले भूमिहीन बनाइएका किसानहरूको जमिन फिर्ता गरि कानुनले तोके बमोजिमको ब्याज बाहेकको सबै रकम क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्ने धर्नाको अगुवाइ गरिरहनु भएका राम सुरत गुप्ता बताउनुहुन्छ ।
खेतबारीमा काम गरेर जीविकोपार्जन गर्ने उनीहरूको खेत नै खोसिएपछि जीवन चलाउने अर्को विकल्प छैन ।
जानअन्जानमा मिटरब्याजीको चङ्गुलमा परेका पीडितहरू सरकारले न्याय नदिएर झनै पीडित बनाएको गुनासो गर्छन् ।
बैंक तथा वित्तीय संस्थामा सहज पहुँच नपुग्दा नवलपरासीका २ सयभन्दा धेरै किसानले मिटर व्याजी अर्थात साँवाको दोब्बर, तेब्बर हुँदै कैयौँ गुणा धेरै रकम लिएको तमसुक गराउने व्यक्तिसँग सँग ऋण लिए ।
ऋणको चुक्ता पुँजीको २० गुणाभन्दा धेरै रकम बुझाउँदा पनि उनीहरूले बन्धकी राखेको जग्गा फिर्ता पाएनन् ।
एक महिनाअघि काठमाडौँ आएर आन्दोलन गरेका मिटरव्याज पीडितहरूलाई सरकारले न्याय दिलाउने आश्वासन दिएको थियो र उनीहरू आशावादी पनि थिए ।
तर अपेक्षा अनुसार कुनै प्रगति नभएपछि पीडितहरू पुनः न्याय खोज्दै काठमाडौँ आइपुगेका छन् ।
प्रकाशित मिति: शनिबार, साउन २१, २०७९, १५:११