काठमाडौँ । नयाँ संविधान जारी नहुँदै र पारित भएपछि पनि राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजको माग छोडेको छैन ।
उसैसँग सङ्घीयता पक्षधर दावी गर्ने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलले चुनावी तालमेलको अभ्यास गरिरहेका छन् ।
विचार र सिद्धान्त नमिल्ने भए पनि प्रतिगमनलाई परास्त गर्न र संविधान जोगाउनको लागि गठबन्धन आवश्यक रहेको राष्ट्रिय जनमोर्चाकाका अध्यक्ष चित्रबहादुर केसी दावी गर्नुहुन्छ ।
‘प्रतिगमनलाई परास्त गर्न र संविधान जोगाउनको लागि गठबन्धन आवश्यक छ ।’, उहाँ भन्नुहुन्छ, ‘सिद्धान्त, विचार र सङ्गठन मिले त एउटा पार्टी भइहाल्यो नि ।’
सत्ता गठबन्धनमा तत्काल संविधान संसोधनको माग गर्ने जनता समाजवादी पार्टी पनि सामेल छ ।
स्थानीय तहपछि प्रदेश र सङ्घको चुनाव हुने निश्चित भइसक्दा पनि उसको माग सम्बोधनको बारेमा कतै छलफल सुनिएको छैन ।
सत्ता बाहिर रहेको नेकपा एमालेले गठबन्धन संस्कृतिको विरोध गर्दै आएको छ । नेता भीम रावल समान राजनीतिक विचारधारा, दर्शन, सिद्धान्त लिएर चुनावमा जानु स्वभाविक भए पनि कुनै एक दललाई सक्नको लागि तालमेल गर्नु संविधानविपरित भएको बताउनुहुन्छ ।
‘चुनावमा आफ्नो सिद्धान्त लिएर जनतामाझ जाने हो । त्यसको परीक्षण निर्वाचनमा गर्ने हो । तर कुनै एक दलको लागि विपरित सिद्धान्त र विचार भएका राजनीतिक दलले निर्वाचनमा तालमेल गर्नु संविधानको अवमूल्यन हो ।’ नेता रावलले भन्नुभयो ।
संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्था गर्न बनेको धारा २ सय ६९ मा समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूले राजनीतिक दल गठन गर्ने र गतिविधि गर्न पाउने उल्लेख छ ।
प्रमुख प्रतिपक्षी दल एमालेलाई एकल्याउनका लागि सरकारमा रहेका दलहरू एक जुट हुँदै गर्दा विचार र आस्थाका आधारमा दलीय प्रतिस्पर्धा गर्ने लोकतन्त्रको सौन्दर्य हराउँदै जाने हो कि भन्ने चिन्ता कतिपयमा देखिन्छ ।
यसैलाई कतिपयले विचार नमिल्ने पार्टीबीच गठबन्धन हुन नहुने तर्क गर्छन् । एक जना विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम कुनै निश्चित क्षेत्रमा राजनीतिक दलले तालमेल गर्न सक्ने भए पनि केन्द्रबाट तालमेल गर्न नहुने तर्क गर्नुहुन्छ ।
‘विचार मिल्नेहरूका बीचमा गठबन्धन भए पनि विचार नमिल्नेहरूले गठबन्धन गर्न मिल्दैन ।’ उहाँ थप्नुहुन्छ, ‘वैचारिक गठबन्धन हुनुपर्छ तर यहाँ स्वार्थको लागि मात्रै गठबन्धन भएको छ ।’
रकारमा रहेका दलहरूबीच मात्रै होइन, स्थानीय तहको चुनावको बेला हिन्दु राष्ट्रको माग अघि सारेको राप्रपा नेपालसँग एमालेले कतिपय ठाउँमा तालमेल गरेको थियो ।
यसले विचारभन्दा पनि दलहरू स्वार्थ प्राप्तिमा केन्द्रित भए टिप्पणी गर्नुहुन्छ एक जना विश्लेषक मुुमाराम खनाल ।
‘२० औँ शताब्दीमा सेवा प्रवाहको लागि गठबन्धन हुने गरेको थियो तर अहिले सेवा प्रवाहलाई होइन सत्ता गठबन्धनमार्फत राज्य दोहन गर्ने उद्देश्यले गठबन्धन हुने गरेको छ । ’ उहाँ थप्नुहुन्छ, ‘बामपन्थी वा कम्युनिष्टहरूले मोर्चा बनाएर गठबन्धन गर्नसक्ने भए पनि त्यसो भएको छैन ।’
सरकारले मङ्सिर ४ मा सङ्घ र प्रदेशको चुनावको मिति घोषणा गरिसकेको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेलाई एकल्याउनका लागि सरकारमा रहेका दलहरू एक जुट हुँदै गर्दा विचार र आस्थाका आधारमा दलीय प्रतिस्पर्धा गर्ने लोकतन्त्रको सौन्दर्य हराउँदै जाने हो कि भन्ने चिन्ता कतिपयमा देखिन्छ ।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९, ०८:१६