काठमाडौँ । गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा (कँणेल) ले पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुन नदिन आफूले सक्दो पहल गर्ने बताउनु भएको छ ।
आज पोखरामा ‘टुरिजमपाना’ मासिक पत्रिकाको विमोचन गर्दै मन्त्री कँणेलले यस्तो बताउनुभएको हो ।
पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने कुराले साहसिक खेल क्षेत्रमा निरासा छाएको भन्दै उहाँले विषय विज्ञहरूसँग पर्याप्त छलफलपछि मात्रै यस विषयमा थप भन्न सकिने बताउनुभयो ।
पोखरामा साहसिक खेल पर्यटनमा धेरै पर्यटकको आकर्षण रहेको भन्दै उहाँले पोखरामा पर्यटक भित्र्याउन यसको संरक्षण जरुरी रहेको धारणा राख्नुभयो ।
साथै उहाँले पोखराको पर्यटन विकासमा प्रदेश सरकारले विशेष ध्यान दिएको दावी गर्नुभयो ।
मन्त्री शर्माले प्याराग्लाइडिङमा उड्दै आज ‘टुरिजम पाना’ मासिक पत्रिकाको विमोचन गर्नुभएको हो । उहाँले यस मासिक पत्रिकाले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमीका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
फरक तरिकाले पत्रिकाको विमोचन गर्न पाउँदा आफूलाई ज्यादै खुसी लागेको मन्त्री शर्माको भनाइ छ ।
नेपालको पहिलो महिला प्यारा पाइलट तृशा श्रेष्ठले उक्त प्याराग्लाइडिङ उडाउनु भएको थियो ।
नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै लुकेर रहेका गन्तव्य चिनाउने उद्देश्यले ‘टुरिजमपाना’ मासिक पत्रिका प्रकाशनमा आएको प्रकाशक विष्णुकान्त घिमिरेले जानकारी दिनुभयो ।
‘टुरिजमपाना’ मासिक पत्रिकाले पर्यटन क्षेत्रका फरक र नयाँ विषयवस्तुलाई पाठकसमक्ष ल्याउने पत्रिकाका सम्पादक गीता चिमोरियाले बताउनुभयो ।
पहिलो ङ्ंकमा सातै प्रदेश नछुट्नेगरी विषयवस्तु समेटिएको भन्दै उहाँले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन क्षेत्रका सकारात्मक विषयलाई प्रचारप्रसार गर्ने र यस क्षेत्रका अप्ठ्याराहरूलाई समाधानका लागि बहसमा ल्याउने जानकारी दिनुभयो ।
उहाँका अनुसार पत्रिकाले पहिलो अङ्कमा संस्कृति, धार्मिक पर्यटन, साहसिक खेल, पर्वतारोहण, गन्तव्य, यात्रा डायरी, विचार, व्यक्तित्व, पूर्वाधार, घुमफिर, प्रदेश र स्थानीय सरकारले गरेका काम लगायतका विषयवस्तु समेटेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९, १३:३८