काठमाडौँ । सामुदायिक वनकै कारण नेपालमा महिलालाई नेतृत्वमा पुग्न सजिलो भएको अभियन्ताहरूले बताएका छन् ।
नेपालमा सामुदायिक वन कार्यक्रम सुरु भएको ३० वर्षभन्दा धेरैको समयावधिमा हजारौँ महिलाले नेतृत्व गर्ने अवसर पाएको उनीहरूको भनाइ रहेको छ ।
काठमाडौँ आज आयोजित ‘सामुदायिक वन अभियानका उपलब्धि उजागर गर्न सामुदायिक रेडियो र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रमका सहभागीले सामुदायिक वन उपभोक्ता महासङ्घदेखि उपभोक्ता समूहको पदाधिकारीमा ५० प्रतिशत महिलाको सहभागिता अनिवार्य गरेपछि महिलालाई नेतृत्वदेखि नीतिनिर्माण तहसम्म पुग्न सजिलो भएको धारणा राखेका हुन् ।
अन्तरक्रिया सामुदायिक सूचना नेटवर्क (सीआईएन) को आयोजनामा भएको हो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष भारती पाठकले सामुदायिक वनमा संलग्न ३ हजारभन्दा धेरै व्यक्ति स्थानीय तहको निर्वाचनमा विजयी भएको जानकारी दिनुभयो ।
देशभरका २२ हजार ४ सय १५ सामुदायिक वन उपभोक्ता समूहमध्ये १ हजार ७२ वटा सामुदायिक वन महिलाले मात्रै सञ्चालन गरेको पाठकले बताउनुभयो ।
हाल नेपालका विभिन्न सामुदायिक वनमा आधारित ४ हजार ५ सयभन्दा बढी साना उद्यम सञ्चालनमा छन् ।
कार्यक्रममा वन तथा भू–संरक्षण विभागका महानिर्देशक राजेन्द्र केसीले सन् २००३ मा सार्वजनिक एक तथ्याङ्क अनुसार देशको अर्थतन्त्रमा १ अर्बभन्दा बढीको योगदान सामुदायिक वनको रहेको जानकारी दिनुभयो ।
महिलालाई नेतृत्व तहमा पु¥याउने पक्षमा सरकार सदैव सकारात्मक रहेको केसीको भनाइ थियो ।
कार्यक्रममा वनविज्ञ डा नारायणकाजी श्रेष्ठले सामुदायिक वनको संरक्षण र व्यवस्थापनका लागि सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल स्थापना हुनुलाई नै प्रमुख उपलब्धि मान्नुपर्ने बताउँदै नेपालमा हरियाली बढ्नु, ५० प्रतिशत अनिवार्य महिला सहभागिता सुनिश्चित गर्नु नै सामुदायिक वन कार्यक्रमको उपलब्धि हो भन्नुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घका पूर्व अध्यक्ष घनश्याम पाण्डेले नेपालका सामुदायिक वनका नयाँ संविधान निर्माण, नीतिनियम तर्जुमा गर्न राजनीतिक दल र सरकारलाई सहयोग पुगेको टिप्पणी गर्नुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घका उपाध्यक्ष भीमप्रकाश खड्काले सरकारले हालै ल्याएको वन नियमावलीले विशेषगरी सामुदायिक वन समूहमा महिलाको सहभागिता र नेतृत्वमा पुग्नबाट छेकेको बताउनुभयो ।
सहभागी विभिन्न जिल्लाका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूले सामुदायिक वनकै कारण नेतृत्व विकासदेखि जीविकोपार्जनका लागि उद्यमी बन्न सफल भएको बताएका थिए ।
भक्तपुरको एउटा वन समूहको नेतृत्व गर्दागर्दै सुर्यविनायक नगरपालिका वडा नम्बर ८ मा निर्वाचित हुनुभएका अन्जना नेपालीले सामुदायिक वनको पदाधिकारी रहँदा गरिएको अभ्यासका कारण अहिले जिम्मेवार जनप्रतिनिधिको भूमिका निभाउन सफल भएको अनुभव सुनाउनुभयो ।
काभ्रेको इन्द्रेश्वरी थल्पु सामुदायिक वनका अध्यक्ष शान्ता न्यौपानेले वनमा अलैँची, अमरिसो खेतीका कारण उपभोक्ताहरू उद्यमी बन्न सकेको सुनाउनुभयो ।
सामुदायिक वनको अभियानमा संलग्न भएकै कारण चुल्होमा मात्र सीमित महिला समाजकै उदाहरणीय व्यक्ति बन्न सकेको न्यौपानेले बताउनुभयो ।
वन तथा वातावरण मन्त्रालयका सह–सचिव राधा वाग्लेले सामुदायिक वन कार्यक्रम सञ्चालन नहुँदाअघिसम्म महिलाले वन पढ्नै नपाउने भए पनि सामुदायिक वन कार्यक्रमकै कारण आफुू यो स्थानसम्म आइपुगेको अनुभव सुनाउनुभयो ।
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९, २१:५५