काठमाडौँ । आज सामुदायिक वन दिवस, देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ, राष्ट्रिय महासङ्घको सचिवालय र डिभिजन वन कार्यालय काठमाडौँको आयोजनामा काठमाडौँको छग्डोल सामुदायिक वन नागार्जुनमा वृक्षारोपण गर्न लागिएको महासङ्घका अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार सामुदायिक वन दिवसको अवसरमा तय गरिएको सप्ताहव्यापी कार्यक्रम आज सकिँदैछ ।
दिवसको अवसरमा मुलुकभरमा रहेका २२ हजारभन्दा धेरै सामुदायिक वनले पनि विभिन्न कार्यक्रम गरिरहेको उहाँको भनाइ छ ।
'सुसासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी' भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम यो वर्ष तय गरिएको थियो ।
साप्ताहव्यापी कार्यक्रम अन्तर्गत साउन १९ मा 'सामुदायिक वनको सम्भावना र चुनौती'को विषयमा सरोकारवालासँग परामर्श गरिएको थियो भने दोस्रो दिन सामुदायिक वनको सवाल र अधिकारको विषयमा जिल्लास्तरीय विशेष भेला, तेस्रो दिन सामुदायिक वनको योगदान र प्रभावका बारेमा गीत, कविता तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको महासङ्घका उपाध्यक्ष भीमप्रकाश खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार चौथो दिन राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिसँग छलफल गरिएको थियो भने पाँचौँ दिनमा सामुदायिक वनको उपलब्धि र चुनौतीका बारेमा सामुदायिक रेडियोकर्मी र वन अधिकारकर्मीसँग छलफल भएको थियो ।
छैठौँ दिन हिजो 'समृद्ध नेपाल, सुखी नेपाली निर्माणमा सामुदायिक वनको योगदान' विषयक राष्ट्रिय कार्यकम्रम गरिएको थियो ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रदिप यादव, नेकपा माओवादी केन्द्र वन तथा वातावरण विभाग इन्चार्ज, पूर्व वन मन्त्री शक्तिबहादुर वस्नेत, नेपाली काँग्रेसका नेता तथा पूर्व वनमन्त्री शंकर भण्डारी वन तथा वातावरण मन्त्रालयका सचिव प्रेम कण्डेल लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा २ वटा सामुदायिक वन उपभोक्ता समूह, ४ जना पत्रकार र १ सयभन्दा बढी सामुदायिक वन उपभोक्ता समूह र सामुदायिक वन उपभोक्ता महासंघ नेपालको विभिन्न जिम्मेवारी वहन गर्दै स्थानीय निर्वाचनबाट विजयी भएका जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९, ०९:०७