काठमाडौँ । गत बिहीवार चीनले ताइवानको उत्तर पूर्व र दक्षिण पश्चिम सीमा नजिकै मिसाइल आक्रमण गर्यो ।
कारण थियो, अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध जनाउनु ।
पेलोसी ताइवानको राजधानी ताइपेइ पुगेको केही घन्टामै चीनको तर्फबाट मिसाइल आक्रमण भएको थियो ।
जवाफमा ताइवानले चीनको आक्रमणको नतिजा दुर्भाग्यपूर्ण हुने बताइसकेको छ ।
ताइवानका राष्ट्रपति साई इङ् वेनले चीनले गरेको मिसाइल आक्रमणको जवाफ दिन आफूहरू तयार रहेको भन्दै कमजोर नठान्न चेतावनी दिइसक्नु भएको छ ।
एक भिडिओ सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, ‘द्वन्द्व वा विवादलाई हामी उक्साउने छैनौँ । दृढताका साथ हाम्रो सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाको रक्षा गर्नेछौँ । तर हामीलाई कमजोर ठानेर आक्रमण गर्नेले नतिजा नराम्रो भोग्नुपर्नेछ ।’
ताइवान, एक यस्तो मुलुक हो, जसलाई लिएर विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनबीच तनाव हुँदै आएको छ ।
आफ्नो शक्ति देखाउन बेलामौकामा यी दुबै मुलुकबीच वाक युद्ध हुँदै आएको छ ।
ताइवान र चीनबीच तनाव बढ्दै गर्दा चीनले मिसाइल आक्रमण नै गरिसकेको छ । तर, ताइवानले सोही प्रकारको आक्रमण भने गरिसकेको छैन ।
ताइवान सीमा आसपास चीनले गरेको मिसाइल प्रहारलाई विश्व समुदायले शान्ति सम्झौतविरुद्ध हो भनेको छ ।
दोस्रो विश्व युद्धपछि ताइवान र चीन सन् १९४९ मा अलग भए । ताइवान आफूलाई स्वतन्त्र मुलुकको रूपमा विश्व सामु प्रस्तुत गर्छ ।
तर उसले आधिकारिक रूपमा स्वतन्त्र राष्ट्र भने घोषणा गरिसकेको छैन ।
चीनले ताइवानलाई आफ्नो हिस्सा मान्दै आएको छ ।
तर ताइवानले ७३ वर्षदेखि आफू स्वतन्त्र र सार्वभौम मुलुक भएको दावी गर्दै आएको छ । यसै विषयमा पनि दुबै मुलुकबीच विवाद हुँदै आएको छ ।
चीन मामिलाका जानकार टंक कार्कीका अनुसार ताइवान र चीनबीचको विवाद सदियौँ पुरानो हो । एक चीन नीतिमा नआएका कारण र छुट्टै मुलुकको रूपमा आफूलाई स्थापित गराएका कारण ताइवानप्रति चीन आक्रोशित हुँदै आएको छ ।
चीन र ताइवान छुट्टिनुअघि ताइवान चीनकै एक भाग थियो । दुई देशबीच लामो समयसम्म युद्ध चल्यो । सन् १६४४ मा चीनमा चीङ्ग वंशको शासन थियो त्यतिबेला ताइवान चीनमै थियो ।
तर युद्धकै क्रममा सन् १८९५ मा ताइवानमाथि जापानले कब्जा गर्यो ।
१९४९ मा गृहयुद्धको बेला चीनको मुख्य भूमिमा माओत्से तुङ्गको नेतृत्वको चिनिया कम्युनिस्ट पार्टी र कुओमिङ्ताङ्गको सत्ताधारी नेशनलिस्ट पार्टीबीच लडाईँ थियो ।
माओत्से तुङ्गको नेतृत्वमा चिनिया कम्युनिस्ट पार्टीले राजधानी बेइजिङ्ग कब्जा गरेपछि कुओमिङ्ताङ्ग दक्षिणी-पश्चिमी टापु ताइवान पुगेर शासन गर्न थाल्नुभयो ।
चीनको मुख्य भूमिको दक्षिण पूर्वी किनारभन्दा करिब १ सय २० किलोमीटर दूरीमा छ, ताइवान ।
लन्डनको किङ्ग्स कलेजमा रक्षा अध्ययन विभागका प्राध्यापक डा. जेनो लियोनीका अनुसार जापानको दक्षिणी क्षेत्र, ताइवान, फिलिपिन्स हुँदै दक्षिण चीन सागरसम्म पुग्ने समुद्री किनारका कारण ताइवानमाथि अमेरिका र चीनको चासो बढ्दो छ ।
लियोनी भन्नुहुन्छ, ‘ताइवान यदि चीनमा समावेश भयो भने प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव थप बढाउनका लागि स्वतन्त्र हुनेछ । त्यतिमात्र होइन, चीनको प्रभाव बढेसँगै प्रशान्त क्षेत्रको गुयाम र हवाई क्षेत्रमा उपस्थित अमेरिकी सैन्य अड्डा खतरामा पर्नेछ ।’
लियोनीका अनुसार दक्षिण चीन सागरमा चीनको सुरुदेखि नै राम्रो प्रभाव छ तर चीनसँग यदि ताइवान आयो भने ऊ आफ्नो नौसेनाको प्रभाव बढाउन सक्षम हुने छ ।
जसले गर्दा त्यस क्षेत्रमा चीनको नियन्त्रण हुनेछ र त्यसले विश्वमा हुने आर्थिक कारोबारमाथि पनि प्रभाव पर्नेछ ।
यदि ताइवान र चीनबीच युद्ध भयो भने विश्व अर्थतन्त्रमा युक्रेन अनि रुसबीचको युद्धकोभन्दा धेरै नकारात्मक प्रभाव पर्ने टिप्पणी गर्नुहुन्छ, एक जना अर्थविज्ञ प्राध्यापक डा.रघुराम बिष्ट ।
दक्षिणी र पूर्वी सागरमा हुन सक्ने कुनै पनि टकरावमा आफ्नो स्थिति बलियो बनाउनेमा ताइवान एक प्रकारको गोप्य सम्बन्ध रहेको लियोनीको भनाइ छ ।
ताइवान र चीनबीचको तनावले विश्व राजनीतिमा युक्रेन र रुसको युद्धभन्दा बढी प्रभाव पर्ने जानकारहरू बताउँछन् ।
चीन मामिलाका जानकार टंक कार्कीका अनुसार ताइवान र चीनबीचको विवाद सदियौँ पुरानो हो । एक चीन नीतिमा नआएका कारण र छुट्टै मुलुकको रूपमा आफूलाई स्थापित गराएका कारण ताइवानप्रति चीन आक्रोशित हुँदै आएको छ ।
त्यसमाथि ताइवानलाई अमेरिकाले आफ्नो पक्षमा पार्न खोजेको छ । त्यसकारण पनि विवाद उत्कर्षमा पुगेको हो ।
सीआईएनसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘युक्रेन र रुसबीचको युद्धको प्रभाव नेपालीको भान्सासम्म आइपुगेको छ । जब कि ती दुई मुलुक भनेको नेपालभन्दा धेरै टाढा छन् । तर छिमेकी मुलुक चीन नै युद्धमा लाग्यो भने त्यसको प्रभाव स्वभाविक रूपमै पर्न जान्छ ।’
‘रुस र युक्रेनबीचको शक्तिको लडाइँ हो भने चीन र ताइवानबीचको लडाइँ सामरिक लडाइ हो ।
आफूबाट छुट्टिएको हुँदा ताइवानलाई आफ्नै भूभागमा समेट्न चीन प्रयासरत रहेको हुँदा यदि यी दुई मुलुकबीच युद्ध भयो भने त्यसले समग्र विश्व अर्थतन्त्र र राजनीतिक समिकरणलाई नराम्रोसँग प्रभावित बनाउँछ ।’ उहाँले थप्नुभयो ।
चीनले आफ्नो जल र वायु सेनाको प्रयोग गरेर यसअघि पनि ताइवानमाथि दवाव दिने काम गरिसकेकाले उसको लागि सहज भने छैन । ताइवानको स्थिति यतिसम्मको नाजुक छ कि उसँग जेपनि हुन्छ त्यसको असर विश्वको राजनीति र अर्थतन्त्रमा पर्ने तय छ ।
ताइवानले विद्युतीय उपकरणको भित्री चीपको निर्यातबाट सन् २०२१ मा मात्रै करिब ५३ अर्ब डलर आम्दानी गरेको थियो भने चीनले विश्व अर्थतन्त्रकै झन्डै १८ प्रतिशत भाग ओगटेको छ ।
युक्रेन र रुसबीचको युद्धमा अमेरिकाले युक्रेनलाई प्रत्यक्ष अनि चीनले अप्रत्यक्ष रूपमा रुसको पक्ष लिएको छ ।
यदि ताइवान र चीनबीच युद्ध भयो भने विश्व अर्थतन्त्रमा युक्रेन अनि रुसबीचको युद्धकोभन्दा धेरै नकारात्मक प्रभाव पर्ने टिप्पणी गर्नुहुन्छ, एक जना अर्थविज्ञ प्राध्यापक डा.रघुराम बिष्ट ।
उहाँका अनुसार चीन नेपालसँग प्रत्यक्ष सम्बन्ध राख्ने मुलुक मात्रै होइन विश्व बजारमा कच्चा पदार्थ निर्यात गर्ने मुलुकमध्येको एक ठूलो मुलुक पनि हो । जसले गर्दा नेपालको बजारमात्रै होइन विश्व बजार नै प्रभावित बन्छ ।
डा.विष्ट भन्नुहुन्छ, ‘चीनले विश्वको ६५ प्रतिशत बजार ओगटेको छ । चीनले ठूलो मात्रामा कच्चा पदार्थ निर्यात गर्छ । कपडादेखि अन्य विभिन्न कच्चा पदार्थका लागि चीन ठूलो निर्यातकर्ता मुलुक हो । ताइवान पनि कम छैन । उसले विभिन्न विद्युतिय सामानमा प्रयोग हुने चीप निर्माण गर्छ । उसले पनि विश्व बजारमा राम्रो पकड बनाएको छ । त्यसकारण यी दुई मुलुकबीचको युद्धले नेपालजस्ता प्रत्यक्ष र अन्य अप्रत्यक्ष सम्बन्ध राख्ने मुलुक नराम्रोसँग प्रभावित हुन्छ ।’
‘चीन विश्वका विभिन्न मुलुकमा लगानी गर्नेमध्येको पनि एक हो । जसले गर्दा नेपाल जस्ता विकासोन्मुख मुलुकले लाभ लिदै आएका छन् । विकास निर्माणदेखि अन्य व्यापारिक गतिविधिका लागि चीनले ठूलो महत्व राख्छ । ताइवान पनि विद्युतिय क्षेत्रमा अब्बल मुलुक भएकाले दुबै मुलुकबीचको लडाइँ समग्रमा नोक्सानदेह नै हुन्छ ।’ डा.विष्टले थप्नुभयो ।
बेलायतको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनमा अबको ६ वर्षमा चीन विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने प्रक्षेपण गरेको हुँदा पनि चीनलाई पछि पार्न अमेरिकासहितका पश्चिमा मुलुकहरू एकजुट भइरहेका छन् ।
उहाँका अनुसार चीन भारतपछिको दोस्रो ठूलो आयातकर्ता मुलुक हो नेपालको लागि । तर, ताइवानसँग त्यति धेरै प्रत्यक्ष सम्बन्ध नभएका कारण नेपाललाई चीन युद्धमा गएको अवस्थामा नराम्रो प्रभाव पर्छ ।
विश्व बजारमा पुग्ने जति पनि विद्युतीय उपकरण छन्, त्यसमा राखिएका चीप ताइवानले बनाउँछ भने विश्वको आधाभन्दा बढी विद्युतीय बजार चीनले ओगटेको छ ।
ताइवानले विद्युतीय उपकरणको भित्री चीपको निर्यातबाट सन् २०२१ मा मात्रै करिब ५३ अर्ब डलर आम्दानी गरेको थियो भने चीनले विश्व अर्थतन्त्रकै झन्डै १८ प्रतिशत भाग ओगटेको छ ।
पछिल्लो समय कोरोना महामारीका कारण पनि विश्वका अन्य मुलुकभन्दा चीनले राम्रो आम्दानी गरेको हुँदा चीनले आफूलाई विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बनाउनका लागि ताइवानमाथि नियन्त्रण गर्न चाहेको विज्ञहरू बताउँछन् ।
ताइवानमाथि चीनको नियन्त्रण भयो भने चीन विश्वकै सबैभन्दा ठूलो विद्युतीय सामान निर्यात गर्ने मुलुक बन्ने छ ।
जुन अमेरिकासहित पश्चिमा मुलुकका लागि चुनौतीको विषय बन्छ ।
बेलायतको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनमा अबको ६ वर्षमा चीन विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने प्रक्षेपण गरेको हुँदा पनि चीनलाई पछि पार्न अमेरिकासहितका पश्चिमा मुलुकहरू एकजुट भइरहेका छन् ।
त्यसकारण पनि अब चीन र अमेरिका प्रत्यक्ष रूपमै युद्धमा आउँछन् वा साम्य हुन्छ्न त्यो भने हेर्न बाँकी छ ।
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९, १४:२६