काठमाडौँ । आगामी मङ्सिर ४ मा हुने प्रदेश र सङ्घको चुनावका लागि सत्ता पक्ष र प्रतिपक्षी दलहरू गठबन्धन बनाएर शक्तिशाली बन्ने कसरतमा जुटेका जुटेका छन् ।
सरकारको नेतृत्व गरेको नेपाली काँग्रेस मधेसवादी दलसँगको परामर्शमा छ भने सरकारमै रहेका कम्युनिष्ट पार्टीहरू बाम मोर्चामार्फत अघि बढ्ने रणनीतिमा छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने साना पार्टीहरूलाई साथमा लिएर चुनावी शक्ति आर्जन गर्ने पक्षमा देखिन्छ ।
यद्यपी अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले चुनाव अघि नै गठबन्धन गरेका कारण स्वच्छ प्रतिस्पर्धाको वातावरण नभएको टिप्पणी गर्नुभएको छ ।
लोकतान्त्रिक शेर्पा सङ्घले हिजो गरेको कार्यक्रममा अध्यक्ष ओलीले एक्लाएक्लै चुनाव लड्ने र चुनावपछि सरकार गठनका लागि गठबन्धन बनाउनुपर्ने भए पनि एमालेलाई रोक्न सरकारमा रहेका दलबीच गठबन्धन भइरहेको बताउनुभयो ।
तर एमाले पनि सकेसम्म गठबन्धन गर्ने रणनीतिमा जुटेको छ । राप्रपाका नेताहरूसँग अध्यक्ष ओलीले नै निरन्तर छलफल गरिरहनुभएको छ ।
एमाले प्रमुख सचेतक बिशाल भट्राइले सीआइएनसँग कुराकानी गर्दै अनौपचारिक छलफल भइरहेको बताउनुभयो ।
नेपाली काँग्रेसले भने आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित गरि १५ दिने संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भदौ १० गतेदेखि २४ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।
चुनावका लागि उम्मेदवार सिफारिस गर्न आफ्ना मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय पनि काँग्रेसले गरेको छ ।
दुवै चुनावका लागि वितरण गर्ने प्रत्यक्ष र समानुपातिकको टिकटमा हस्ताक्षर गर्ने अधिकार सभापति देउवालाई नै दिने निर्णय पनि काँग्रेसले गरेको छ ।
काँग्रेसको शेखर कोइराला समूहले भने प्रदेश र सङ्घीय चुनावदेखि नियुक्तिहरूमा ४० प्रतिशत नै भाग माग्ने निर्णय गरेको छ ।
भापति देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै शेखर समूहको हिजो काठमाडौमा बसेको बैठकले यस्तो निर्णय गरेको नेता गुरुराज घिमिरेले सीआईएनसँग बताउनुभयो । माओवादी केन्द्रमा भने चुनाव नजिकिँदै गर्दा उम्मेदवार बन्ने आकाङ्क्षीहरू बढ्दै गएका छन् ।
हिजो भएको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले नेताहरूको व्यवस्थापनमा समस्या देखिएको बताउनुका साथै एकताबद्ध गरेर लैजान पनि चुनौती थपिएको बताउनुभयो ।
महासचिव लगायतका पदाधिकारीको रिक्त पद पूर्ति नहुँदै चुनावका लागि पनि टिकट वितरण गर्नुपर्ने भएपछि दवावमा पर्नुभएका अध्यक्ष प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग पनि चुनावी तालमेलका लागि छलफल गर्दै आउनुभएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९, ०८:१५