काठमाडौँ । बाग्लुङका हरिदत्त उपाध्यायलाई केही दशक अघिसम्म घरको आगनैसम्म आइपुग्ने चराहरू अचेल कम मात्रै देखिए जस्तो लाग्छ ।
उपाध्याय भन्नुहुन्छ, ‘गुँड बनाउन रुख बिरुवा नभएका पनि होइनन् । तै पनि कता गए ती चराहरू ?’
आँगनमा सुकाएको बिस्कुन र खेतबारीमा पाकेको अन्न, फल खान आउने चराहरू पनि उत्तिक्कै घटिरहेका छन् ।
जलवायु परिवर्तनको असर, खेतीपाती कम हुँदै जानु, गाउँ सहरमा बदलिँदै जानुलगायत कारण चराहरू बस्तीबाट टाढा मात्रै गइरहेका छैनन् कतिपय लोप नै भइसकेका छन् ।
सन् २०१८ को तथ्याङ्कअनुसार नेपालमा ८ सय ८६ प्रजातिका चरा पाइन्थ्यो । त्यसको ४ वर्षमा भने नेपालमा ६ वटा नयाँ चराको प्रजाति थपिँदा ८ सय ९२ पुगेको छ ।
थपिएका प्रजातिसहितको तथ्याङ्क पन्छी संरक्षण सङ्घले सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
अध्ययन गर्दैै जाँदा नयाँ प्रजातिका चराहरू भेटिन्छन् तर नयाँ प्रजातिका चरा भेटिने दरभन्दा नेपालमा पाइने चराहरू घट्ने दर बढिरहेको छ ।
लोप हुने अवस्थामा पुगेको चराको प्रजाति सङ्ख्या पनि बढ्दै गएको छ ।
गाउँघरमा आइरहने भँगेरा, कोटेरा, गौँथली, लामपुछ्रे, सारौँलगायत चरा पनि घट्दै गएपछि नेपाल पन्छी संरक्षण सङ्घले ‘छिमेकी चरा’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
२४ वर्षअघि नेपालमा पाइने १ सय २९ प्रजातिका चरा खतराको सूचीमा रहेका थिए ।
हाल १ सय ७२ प्रजातिका चरा लोप हुने अवस्थामा पुगेको नेपाल पन्छी संरक्षण सङ्घका अधिकृत मोहन बिक्रम श्रेष्ठले जानकारी दिनुभयो ।
‘सामान्यतया गाउँघरमा देखिने चराको सङ्ख्यासमेत घट्दो अवस्थामा छ ।’ सीआईएनसँगको कुराकानीमा श्रेष्ठले भन्नुभयो ।
करिव सय वर्ष यता नेपालमा पाइने ठूलो वन बकुला, गुलाफी टाउके हाँस, तराई बाँदर चरी, हरियो कोचवा, खैरो मुसे फिस्टोलगायत ७ किसीमका चरा हाल देखिँदैनन् ।
अर्थात ती पूर्ण रूपमा लोप भइसकेको अनुमान गरिएको छ । शिकारी चराको नामबाट चिनिने गिद्ध, चिल, गरुडलगायत खतराको सूचीमा छन् ।
नेपालमा पाइने चराको संरक्षण गर्न वासस्थान सुरक्षित राख्न समुदायसँग सहकार्य गर्नुपर्ने, कृषिमा हुने रासायनिक मलको प्रयोग न्यूनीकरण गर्नुपर्ने एकजना पन्छीविद हेमबहादुर कट्वालको भनाइ छ ।
‘रासायनिक मलको प्रयोग कृषि खेतीमा बढ्दै जाँदा सबैभन्दा धेरै असर पन्छीलाई पुगेको छ ।’ पन्छीविद् कट्वालले थप्नुभयो ।
यसको संरक्षणका लागि गाउँगाउँमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको सुझाव छ । हिमाली र पहाडी क्षेत्रको तुलनामा तराई क्षेत्रमा पाइने चरा हराउँदै गएका छन् ।
नेपालका जङ्गलमा करिव ३ सय ८९ प्रजातिका चराहरू बस्छन् । तीमध्ये कैयौँ लोपोन्मुख अवस्थामा छन् । यसको संरक्षणको लागि सरकारले देखिने काम नगरेको सरोकारवाला निकायको गुनासो छ ।
तराईका जङ्गल र खेतबारीमा पाइने बगेडी, तोता, मैना, सुगा, खजन चिरैया, काठफोर्बालगायतका चरा हिजो आज देखिँदैनन् ।
धनुषाका सुजित कापर १० वर्षअघि देखिने चराहरू हिजोआज नदेखिएकोमा चिन्तित हुनुहुन्छ ।
‘कृषि उपजमा अत्यधिक विषादी प्रयोग भयो । यसले गर्दा चराहरूको खानामा असर पुग्यो ।’ कापर थप्नुहुन्छ, ‘बिजुलीका अव्यवस्थित तारहरूबाट लाग्ने करेन्टका कारण पनि चराहरू मरेको भेटिन्छ ।’
गाउँघरमा आइरहने भँगेरा, कोटेरा, गौँथली, लामपुछ्रे, सारौँलगायत चरा पनि घट्दै गएपछि नेपाल पन्छी संरक्षण सङ्घले ‘छिमेकी चरा’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
यो एपमार्फत जोकोहीले आफ्नो घर वरपर रहेका चराको सूचना सङ्घलाई दिन सक्छन् ।
सङ्घले लोप भएका र लोप हुँदै गएका चराको बारेमा अध्ययन गर्ने तथा समाधानको उपाय खोज्ने काम पनि गरिरहेको छ ।
मौसम अनुसार नेपालमा किर्गिस्तान, तुर्किमिनिस्तान, चीन, मङ्गोेलिया तथा रुसको साइबेरियालगायत मुलुकहरूबाट पनि चराहरू आउने गर्छन् ।
विभिन्न देशबाट ४५ प्रजातिका चरा गर्मी छल्नकै लागि नेपाल बसाइ सरेर आइपुग्छन् ।
जाडो छल्नका लागि भने वार्षिक १ सय ५० प्रजातिका चरा आउँछन् । अनि आफ्नो अनुकुलतामा फर्कन्छन् ।
नेपालका जङ्गलमा करिव ३ सय ८९ प्रजातिका चराहरू बस्छन् । तीमध्ये कैयौँ लोपोन्मुख अवस्थामा छन् । यसको संरक्षणको लागि सरकारले देखिने काम नगरेको सरोकारवाला निकायको गुनासो छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९, १९:५३