काठमाडौँ । नवलपरासीको गैँडाकोट नगरपालिका ५ कुशुमघाटका ३१ वर्षका चन्द्र पौडेल २०७६ मङ्सिर २५ गते दुर्घटनामा पर्नुभयो ।
चितवनको भरतपुरमा आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा पौडेलले दाहिने हात गुमाउनुपर्यो । गत पुस ३ गते बाराको पथलैयाबाट सिमरातर्फ जाँदै गरेको एक मोटरसाईकल सडकसँगैको बारमा ठोकियो ।
दुर्घटनामा २५ वर्षका उमाकान्त चौधरीको घटनास्थलमै मृत्यु भयो । सँगै सवार सुनिल चौधरीको खुट्टामा गम्भीर चोट लागेका कारण हिँडडुलमा अझै समस्या छ ।
‘डाक्टरले अझैँ केही महिना घरमै आराम गर्नु भन्नुभएको छ । खुट्टा पनि दुखिरहेकाले काम गर्न सकिरहेको छैन ।’ सीआईएनसँग कुराकानी गर्दै चौधरीले भन्नुभयो ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ३९ हजार ३ सय ७९ वटा सवारीसाधन दुर्घटनामा दुई हजार आठ सय ८३ जनाको मृत्यु भयो ।
जुन तथ्याङ्क नेपालमा सवारीसाधन दुर्घटना इतिहास पल्टाउने हो भने सबैभन्दा धेरै हो ।
जसमध्ये १९ हजार ९ सय ७४ वटा मोटरसाइकल दुर्घटनामा परेको देखिन्छ । कतिपय अस्पतालबाट तथ्याङ्क आइरहेकाले यो सङ्ख्या ४० प्रतिशतले बढ्नसक्ने अनुमान प्रहरीको छ ।
सवारीसाधन दुर्घटनाकै कारण गत एक वर्षमा मात्रै ४५ करोड चार लाख ५१ हजार रुपैयाँ बराबरको भौतिक क्षति भयो । चालकले होसियारी अप्नाउने हो भने मात्रै पनि सडकमा हुने दुर्घटना आधाले कम गर्न सकिने विज्ञहरूको भनाइ छ ।
दुर्घटनामा मृत्यु र घाइते हुनेहरू १७ देखि ३५ वर्ष उमेर समूहका बढी भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरिक्षक टेकप्रसाद राई बताउनुहुन्छ ।
उहाँका अनुसार ११ हजार चार सय ७२ वटा दुर्घटनाको कारण तीव्र गति हो ।
एक हजार एक सय ७७ वटा घटना चालकले मादक पदार्थ सेवन गरेका कारण भएका छन् भने ट्राफिक नियम उल्लङ्घनबाट आठ सय ८२ दुर्घटना भएका छन् ।
तथ्याङ्क हेर्दा लाग्छ, दुर्घटनामा चालकको लापर्बाही बढी छ । तर सडक सुरक्षाविज्ञ आशिष गजुरेल दुर्घटनाका कारणलाई चालकको पाटोबाट मात्रै हेर्न नहुने बताउनुहुन्छ ।
‘हामीकहाँ दुर्घटना भयो भने सिधै चालकमाथि दोष थुपार्ने चलन छ । तर यसो गरिनु मात्रै समाधान होइन ।’ गजुरेलले सीआईएनसँग भन्नुभयो, ‘चालकमाथि आईपर्ने मानसिक तनाव, सडकको अवस्था, सवारीसाधनको अवस्थालगायतलाई पनि गहिरो अध्ययन गरिनुपर्छ ।’
तर जुनसुकै अवस्थामा पनि चालक संवेदनशील हुनुपर्ने कुरालाई भने नकार्न नसकिने उहाँ बताउनुहुन्छ ।
सवारीसाधन दुर्घटनाकै कारण गत एक वर्षमा मात्रै ४५ करोड चार लाख ५१ हजार रुपैयाँ बराबरको भौतिक क्षति भयो ।
चालकले होसियारी अप्नाउने हो भने मात्रै पनि सडकमा हुने दुर्घटना आधाले कम गर्न सकिने विज्ञहरूको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९, २०:१८