बिराटनगर । राजधानीको विषयले बिराटनगर फेरि तातेको छ । राजधानीमै कार्यपालिका र व्यवस्थापिका हुनुपर्ने माग राखेर नगरबासीले आन्दोलन सुरु गरेका छन् । आजदेखि विराटनगर ठप्प पारेका छन्। नेकपा संसदीय दलको आइतबारको बैठकले दुई तिहाइ बहुमत रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश १ को स्थायी राजधानी विराटनगरमा नै राख्ने निर्णय गरेको छ ।
राजधानी विराटनगरमा भएपनि कार्यपालिका, ब्यवस्थापिका लगायत संरचना सुनसरीको इटहरी र मोरङको सुन्दर हरैंचा आसपासमा रहने निर्णय गरेको थियो । त्यस विरुद्ध बिराटनगरका बासिन्दाले आन्दोलन सुरु गरेका हुन् ।
आइतबार नै प्रदेश सभामा दर्ता भइसकेको सो विषय सोमबार निर्णय हुने सम्भावना छ । आइतबार रातीको निर्णयबाट बिहानैबाट गरिएको बन्दले शैक्षिक संस्थासमेत खुल्न सकेनन् ।
विराटनगरका विभिन्न चोकमा बन्दकर्ताले सवारी आवागमन ठप्प पारेका छन् । अर्थशास्त्री प्रा डा भेषप्रसाद धमलाको संयोजकत्वमा दवाव समुह बनेको छ । समितिमा नेकपा वाहेका दलका नेताहरु पनि सहभागि छन ।
सदस्यहरूमा मोरङ कांग्रेसका सचिव नागेश कोइराला, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष राजकुमार यादव, उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष तथा पूर्व सभासद पवन सारडालगायत छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६, १३:५७