काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीप्रति श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर ललितपुरस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।
घाँटीको क्यान्सर भएपछि भारतबाट उपचार गरेर फर्कनुभएका गिरीमा निमोनिया देखिएको थियो । निमोनिया भएपछि ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा गएराति साढे ९ बजे गिरीको निधन भएको थियो ।
उहाँलाई साउन ८ गते स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
गिरीको निधनले सिङ्गो पार्टीपङ्ति शोकमा डुबेको नेपाली काँग्रेसले जनाएको छ ।
स्वर्गीय प्रदीप गिरीले नेपाली काँग्रेसको सङ्गठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको अतुलनीय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने काँग्रेसको शोक वक्तव्यमा उल्लेख छ ।
गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा राखिने र बिहान साढे ११ बजेदेखि २ बजेसम्म नेपाली काँग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन सानेपामा राखिने काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिउँसो २ बजेपछि नेता गिरीको पशुपति आर्यघाटमा अन्त्येटि गरिनेछ ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९, ०८:०२