काठमाडौँ । नेपाली बजारमा उपभोग गरिने प्रायः सबैजसो वस्तुको मूल्य बढेको छ । यसबाट निम्न र मध्यम वर्गीय नागरिक सबैभन्दा मर्कामा परेका छन् ।
दैनिक उपभोग्य वस्तुको भाउ बढ्नुमा माग बढ्नु, अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुलगायतका प्रमुख कारण छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टका अनुसार वार्षिक विन्दु अनुसार २०७९ साउनमा नेपालको समग्र मुद्रास्फीति ८ दशमलव ०८ रहेको छ ।
वार्षिक औसत मुद्रास्फीति ६ दशमलव ३२ प्रतिशत रहेको छ ।
खाद्य पदार्थतर्फको मुद्रास्फीति वार्षिक विन्दुगत आधारमा ६ दशमलव ८९ प्रतिशत रहेको छ भने गैर खाद्यतर्फको मुद्रास्फीति असारमा ९ दशमलव ०३ प्रतिशत रहेको डा. भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘वार्षिक विन्दुगत भन्नाले अघिल्लो असारसम्म तुलना गर्दा समग्रमा वार्षिक मुद्रास्फीति ६ दशमलव ३२ प्रतिशत रहेको छ । तर गत आर्थिक वर्षको असारसम्मको मुद्रास्फीतिलाई अघिल्लो असार अर्थात् आर्थिक वर्ष २०७७÷०७८ सँग तुलना गर्दा ८ दशमलव ०८ प्रतिशत रहेको देखिन्छ ।’
उहाँले नेपालको मुद्रास्फीति बढ्दै जानुको कारण खाद्यवस्तुको मुद्रा स्फीतिले बढेको भन्दै यसलाई नियन्त्रणका लागि राष्ट्र बैंकले आफ्नोतर्फबाट विभिन्न पहल गरिरहेको बताउनुभयो ।
कर्जा विस्तारलाई नियन्त्रण गर्ने, ब्याजदरलाई माथि लैजानेलगायत काम गरेर विदेशी विनिमय सञ्चितीमा सुधार ल्याउन र मुद्रास्फीति नियन्त्रणको प्रयास गरिरहेको उहाँको भनाइ छ ।
सामान्य अर्थमा भन्दा समग्र वस्तु तथा सेवाहरूको मूल्य निरन्तर बढ्नुलाई मुद्रास्फीति भनिन्छ । अर्को शब्दमा भन्दा वस्तुको मूल्य बढ्नु र पैसाको मूल्य अर्थात् क्रयशक्ति घट्नु मुद्रास्फीति हो ।
विलासिताका सामान आवश्यक छ या छैन, त्यसले मुलुकको कति खर्च भइरहेको छ, कति विदेशी मुद्रा बाहिरिँदैछ ? लगायतका विषयमा गम्भीर भएर नियमन र अनुगमन गर्नुपर्ने भन्दै उहाँले वैदेशिक मुद्राको चुहावटलाई रोक्न मद्दत गर्नेमा जोड दिनुभयो ।
मुद्रास्फीति जुन अनुपातमा बढ्छ सोही अनुपातमा आम्दानी नबढ्दा त्यसले मुलुकलाई समस्यातिर धकेल्छ ।
अर्थ क्षेत्रका एकजना जानकार भीम गौतमका अनुसार मुद्रास्फीति बढ्नुको अर्थ मुलुकको सबै क्षेत्रको मूल्य बढेको वा महङ्गी बढेको बुझ्नुपर्छ ।
गौतमले मुद्रास्फीति बढेपछि सेवा क्षेत्र, परियोजना, खाद्यपदार्थलगायत हरेक क्षेत्रमा महङ्गी बढ्ने भएकाले यसले वैदेशिक लगानीलाई निरुत्साहित गर्ने काम हुने र त्यसले मुलुकको अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित बनाउने बताउनुभयो ।
मुलुकको अर्थतन्त्र कुन दिशामा जादैछ भन्ने बुझ्नका लागि मुद्रास्फीतिको उतारचढावले पनि सङ्केत गर्ने भएकाले मुद्रास्फीति जति बढ्दै जान्छ त्यति नै अर्थतन्त्रमा नकारात्मक असर पार्ने उहाँको भनाइ छ ।
मुद्रास्फीति बढेकै कारण विश्वका विभिन्न मुलुकको अर्थतन्त्रमा नराम्रोसँग प्रभावित बनेको छ ।
उदाहरणका लागि पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, बेलायतलगायतका मुलुकमा बढ्दो मुद्रास्फीतिकै कारण महङ्गी बढेको छ । मुद्रास्फीति बढेकै कारण अहिले भारतीय रुपैयाँ डलरको तुलनामा कमजोर भएको छ भने नेपाली रुपैयाँ पनि कमजोर भएको छ ।
पाकिस्तानको मुद्रास्फीति झन्डै २२ प्रतिशत पुगेको छ भने बङ्गलादेशको मुद्रास्फीति ३४ वर्ष यताकै उच्च बिन्दु अर्थात् ११ दशमलव ४ प्रतिशतमा पुुगेको छ ।
बेलायतमा पनि बढ्दो महङ्गीका कारण मुद्रास्फीति १० प्रतिशत पुगेको छ ।
मुद्रास्फितिको अवस्था त्यतिबेला मात्र सिर्जना हुन्छ, जतिबेला उत्पादनको तुलनामा मौद्रिक आम्दानी वृद्धिदर बढी हुन्छ । मुद्रास्फिति कुनै पनि देशको पैसाको मूल्य घटेको अवस्था भएकाले त्यसले देशमा महङ्गी बढाउने र कृत्रिम अभाव जस्ता समस्याहरू उत्पन्न गराउँछ ।
बढ्दो मुद्रास्फीतिलाई नियन्त्रणका लागि सरकारले आयात प्रतिस्थापनमा विशेष ध्यान दिनुपर्ने अर्थविद प्रा. डा.रघुराम विष्टको भनाइ छ ।
सीआईएनसँगको कुराकानीमा उहाँले आयात गर्दा कुन वस्तुहरू आयात हुँदैछ त्यसमा नियमन गर्न आवश्यक रहेको बताउनुभयो ।
विलासिताका सामान आवश्यक छ या छैन, त्यसले मुलुकको कति खर्च भइरहेको छ, कति विदेशी मुद्रा बाहिरिँदैछ ? लगायतका विषयमा गम्भीर भएर नियमन र अनुगमन गर्नुपर्ने भन्दै उहाँले वैदेशिक मुद्राको चुहावटलाई रोक्न मद्दत गर्नेमा जोड दिनुभयो ।
उत्पादन गर्ने सामानहरूको बजारसम्मको पहुँच कस्तो अवस्था छ र त्यसले कतिको बजार पाएको छ भनेर पनि सरकारले नियमन र अनुगमन गर्नुपर्ने उहाँको सुझाव छ ।
प्रा.डा.विष्टले भन्नुभयो, ‘व्यापारीहरूले अनावश्यक रुपमा सामानहरू लुकाउने, कालाबजारी गर्ने, वस्तुभाउको मूल्य मनपरी बढाउने परिपाटीले समस्या हुने गर्छ । त्यसतर्फ पनि सरकारले अनुगमन गर्नुपर्छ । यसका लागि सरकार आफै चनाखो भएर बस्नुपर्ने हुन्छ ।’
डा.विष्टले मुलुकको लागि चाहिने आवश्यक वस्तुको माग पूर्तिमा विशेष ध्यान दिएर अनावश्यक वस्तुको आयातमा रोक लगाउँदै स्वदेशी उत्पादनलाई जोड दिँदै नेपाली मुद्रालाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
मुद्रास्फितिको अवस्था त्यतिबेला मात्र सिर्जना हुन्छ, जतिबेला उत्पादनको तुलनामा मौद्रिक आम्दानी वृद्धिदर बढी हुन्छ ।
मुद्रास्फिति कुनै पनि देशको पैसाको मूल्य घटेको अवस्था भएकाले त्यसले देशमा महङ्गी बढाउने र कृत्रिम अभाव जस्ता समस्याहरू उत्पन्न गराउँछ ।
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९, १५:४४