काठमाडौँ । आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा चुनावका लागि सिट बाँडफाँड बारे छलफल गर्न थालेको महिना दिन पुगे पनि सरकारमा रहेका दलहरूबीच सहमति जुट्न सकेको छैन ।
सरकारमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सिटको बारेमा कुरा मिलाउन निरन्तर संवादमा छन् ।
पछिल्लो समयमा यी दलबीच लामो छलफल हुँदै आए पनि नेपाली काँग्रेसले १ सय सिट पाउनुपर्ने पूर्ववत अडान नछोडेपछि अरु दलले पनि आफ्नो अडान कायमै राखेका छन् ।
गठबन्धन दलमा सहभागी एक नेताका अनुसार आज पनि सहमतिका लागि बैठक बोलाइएको छ तर काँग्रेसले लचकता नअपनाएमा सहमतिको सम्भावना कम देखिएको छ ।
‘सत्ता गठबन्धनलाई बाध्यता ठानेर साना दललाई पेल्ने रणनीति लिइए त्यो स्वीकार्य हुँदैन । काँग्रेस पछि नहट्ने हो भने अरुले किन अडान छोड्ने भन्ने बारेमा कुराकानी काँग्रेसइतर दलमा भइरहेको छ ।’ ती नेताले सीआईएनसँग भने ।
तालमेल गर्दा १ सय सिट पाउनुपर्ने अडान काँग्रेसको छ भने माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादी पार्टीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दावी छोडेका छैनन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९, ०९:५४