काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले काठमाडौँ उपत्यकामा रात्रीकालीन सम्पदायात्रा सञ्चालन गर्ने तयारी गरेको छ ।
काठमाडौँ, भक्तपुर, पाटन र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रीकालीन पदयात्रा सुरु गर्नेबारे मन्त्री जीवनराम श्रेष्ठले सरोकारवाला निकायका पदाधिकारीसँग छलफल समेत गर्नुभएको छ ।
मन्त्री श्रेष्ठले रात्रीकालीन सम्पदायात्राले पर्यटकहरूको आगमन बढ्ने र उपत्यकामा पर्यटकको बसाइ अवधि पनि लम्विने विश्वासका साथ तयारी गरिएको बताउनुभयो ।
रात्रीकालीन सम्पदायात्राबाट यहाँका कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
'रात्रीकालीन सम्पदायात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुनर्जीवन पाउनेछन् ।' मन्त्री श्रेष्ठले भन्नुभयो ।
पर्यटन व्यवसायी र स्थानीयबासिन्दाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्तीको व्यवस्था, सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय संचालनको तयारी पूरा गरी रात्रीकालीन सम्पदायात्रा सुरु गर्ने तयारी मन्त्रालयको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९, १०:१४