दिन ढलेर साँझ पर्न आँँटेको छ ।
बारी र भीरपाखाबाट दाउरा, घाँस बोकेर अधिकांश महिला, किशोरी र केही पुरुष बस्तीतिर झर्दै अनि चढ्दैछन् ।
काभ्रेको तेमाल गाउँपालिका ६ ठूलो पर्सेलमा दिनभरि हल्का न्यानो महसुस भयो ।
साँझपख चिसो ।
यसो भनुँ, जाडो भइरहँदा यहाँका महिलाहरू आफ्नो समस्या सुनाउन 'लठान टोल'को मोड किनारमा लहरै छेउपट्टी बसेका छन् ।
उत्तरपट्टी पिठ्यु फर्काएर ।
यो ७ मङ्सिर २०७८ को कुरा । कोरोना महामारीको डर सर्वत्र छ ।
गाउँसमाजमा फैलिएको भ्रम र कोरोनाविरुद्धको खोपबाट सुरु भएको उनीहरूको मौखिक बयान झम्के साँझ पर्दा दैनिक कामको बोझ, त्यसैका कारण सहँदै आएको वर्षौँदेखिको घुँडा, हाडजोर्नीको समस्यामा केन्द्री हुँदै गयो ।
स्थानीयबासी पञ्चमायाले आफ्नो किशोरावस्थाकी एक छोरीमा देखिएको मानसिक समस्या, पायल्सलगायत अरु स्वास्थ्य समस्या थपिँदा दैनिकीमा परेको प्रभाव सुनाउनुभयो ।
यसोभन्दा उहाँको दुवै आँखा रसाइरहेका थिए ।
‘छोरीको उपचारमा कसैले सहयोग गरिदिए यो जस्तो राम्रो केही हुने थिएन मेरो लागि ।’ निराशा र आशाको मिश्रित भावमा पञ्चमायाले यसो भन्नुभयो ।
स्थानीय इन्द्राकुमारी पाण्डे ।
उमेरले ६० भन्दा माथि पुगे पनि बारीबगैचामा उहाँको सक्रियतामा कुनै कमि छैन ।
तर शरीरको एकापट्टीको भाग एक्कासी निदाएजस्तो हुने, त्यसबेलामा नढलेर सुखै नपाइने आफ्नो समस्या सुनाउन बारीबाट बाटोमा झर्नुभयो । उहाँले भन्नुभयो, ‘यति भएर पनि मैले यस्तो समस्या छ भनेर आफ्नो श्रीमान, छोरा कसैलाई भन्न सकेको छैन ।’
इन्द्राकुमारी त एक प्रतिनिधि पात्र मात्रै ।
गाह्रोसाह्रो नहुँदासम्म जतिसुकै समस्या भए पनि लुकाउने वा छोराछोरीले दुख मान्लान् भन्ने ठानेर आफ्नै मनमा सीमित राख्ने कैयौँ आमाहरूको स्वभाव हामी गाउँघर, समाजमा अझैँ देख्न सक्छौँ ।
वडा सदस्यसमेत रहेकी नक्कली विक, अर्का स्थानीय विष्णुमाया विकलगायत जति पनि महिलासँग हामी थियौँ । सबैको साझा समस्या थियो, 'घुँडा, हाडजोर्नी' दुख्ने ।
ठूलो पर्सेलका विशेष गरी महिलाको स्वास्थ्य समस्या समाधानका लागि समन्वयकारी भूमिका खेल्ने । यही निष्कर्षका साथ साँझ पर्दै गर्दा हाम्रो टोली काठमाडौँका लागि हिँड्यो ।
सीआईएन म्यानेजर दीपक आचार्य, युनिसेफका कुन्दन आचार्य, काभ्रेको रेडियो रोशीमा कार्यरत शोभा हुमागाईँ साथमा हुनुहुन्छ ।
‘स्थानीय सरकारका माध्यमबाट जनप्रतिनिधि घरआँगनमै पुगेको भनिए पनि ठूलो पर्सेलका महिलाहरू सबै एकै प्रकारको स्वास्थ्य समस्याबाट पीडित हुँदा किन कसैले नदेखेका, नसुनेका वा किन कसैलाई नभनिएको होला ?’
कतै ढुङ्गाले छापेको उकालीओराली, कतै कच्ची बाटो पार गर्दै काठमाडौँ फर्कँदा मेरो मनमा यस्तै प्रश्नहरू उठे । त्यसबेलै मैले सङ्कल्प गरेको थिएँ, ‘जसरी पनि यहाँका महिलाहरूको समस्या समाधानका लागि पहल गर्नुपर्छ ।’
ठूलो पर्सेलबाट फर्किएको ६ दिनपछिको बिहान । १३ मङ्सिरको बिहान साढे ६ बजे ।
म सीआईएनको साप्ताहिक कार्यक्रम ‘जीवनरक्षा’ सञ्चालन गरिरहेको छु । काभ्रेबाट निर्वाचित सांसद गङ्गाबहादुर तामाङ र धुलिखेल अस्पतालका सामुदायिक तथा जनस्वास्थ्य निर्देशक डा विराज कर्माचार्य टेलिफोनमार्फत अतिथिको रूपमा हुनुहुन्छ ।
ठूलो पर्सेलका महिलाहरूको स्वास्थ्य समस्याका बारे शोभा जीले बनाउनु भएको रिपोर्टमा वडाअध्यक्ष बिकुलाल तामाङले जतिसक्यो चाँडो स्वास्थ्य शिविर चलाउने र यसका लागि गाउँपालिका लगायत सबै निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाउनु भएको रिपोर्ट प्रसारण भएपछि सांसद तामाङ र डा कर्माचार्यसँगको कुराकानी सुरु भयो ।
‘अबको एक महिनाभित्र ठूलो पर्सेलमा स्वास्थ्य शिविर चलाउने गरी समन्वय गर्छु । एकदुई दिनमा हामी निणर्यमा पुग्छौँ ।’ सांसद तामाङले प्रतिबद्धता जनाउँदै भन्नुभयो ।
स्वास्थ्य शिविर चलाउनका लागि डा कर्माचार्यको भाका तामाङको भन्दा आधा कम थियो । अर्थात कम्तिमा पनि दुई हप्तामा शिविर चलाउन सकिने उहाँको भनाइ थियो ।
‘काभ्रेको दुर्गम गाउँको समस्याका बारेमा उजागर गरिदिएकोमा सीआईएन र स्थानीय सामुदायिक रेडियोलाई पनि धन्यवाद । हामी शिविर सञ्चालनको जिम्मा लिन तयार छौँ ।’ डा कर्माचार्यले कार्यक्रममार्फत प्रतिबद्धता जनाउँदै थप्नुभयो ।
कार्यक्रममा भएको सहमति र व्यक्त गरिएको प्रतिबद्धता अनुसार सबै कुरा ठीक भइदिएको भए पुसको सुरुवाती वा मध्येसम्ममा ठूलो पर्सेलमा स्वास्थ्य शिविर सञ्चालन भइसकेको हुन्थ्यो ।
तर यसबीचमा नेपालमा फैलिएको कोरोना महामारी र यसलाई नियन्त्रणका लागि सरकारले जारी गरेका विभिन्न आदेश, अपनाइएको स्वास्थ्य सावधानीका कारण त्यो सम्भव हुन सकेन ।
तर पनि कुनै उपाय अपनाएर जाडो नसकिँदै शिविर सञ्चालन भए अझ बढी प्रभावकारी हुन्थ्यो कि भन्ठानेर म सरोकारवाला निकाय सबैको नियमित सम्पर्कमा थिएँ ।
‘कोरोनाका नियन्त्रणका लागि सरकारले बनाएको नियम मान्नै पर्यो। सरकारको थप निर्णय कस्तो आउँछ, तबसम्म कुरौँ ।’ प्रायः सबैले यसै भन्थे ।
वडाअध्यक्ष (तत्कालीन) बिकुलाल तामाङको फोन आएपछि मलाई केही शङ्का र केही सुनिश्चितताको भान भयो । ‘हामीले यही १८ गते ठूलो पर्सेलमा स्वास्थ्य शिविर चलाउने निर्णय गरिउँ । म अहिले धुलिखेल अस्पतालबाट फोन गर्दैछु ।’ वडाअध्यक्ष तामाङले यसो भन्नुभयो ।
'सर तपाईँले कार्यक्रममा अन्तर्वार्ता लिँदा डाक्टर, वडाअध्यक्ष र सांसदले शिविर चलाउँछौँ भनेको हामीले सुन्यौँ । तर चिसो त जान लागिसक्यो । कहिले आउनुहुन्छ ?’ ठूलो पर्सेलबाट यस्तो अनुरोधसहितका फोन आउन थाले ।
मानौँ म नै, यो सबै कुराको चाँजोपाँजो मिलाउने मुख्य व्यक्ति हुँ ।
समन्वयकारी भूमिका बाहेक अरु केही नभए पनि मैले थप स्पष्टिकरण दिन आवश्यक ठानिन । कोरोनाका कारण शिविर बस्ने निश्चित भइनसकेको तर चिन्ता नलिनका लागि आग्रह गर्दै आश्वस्त पार्न मात्रै खोजेँ ।
२४ पुस को बिहान साढे ६ बजे ।
कार्यक्रम ‘जीवन रक्षा’ मा मैले यही विषयमा फलोअप कुराकानीका लागि सांसद गङ्गाबहादुर तामाङलाई सम्पर्क गरेँ ।
करिब १० मिनेटको कुराकानीमा उहाँले शिविर बस्न ढिला हुनुमा सरकारले कोरोना रोक्नका लागि लगाएको निषेधाज्ञा प्रमुख कारण हो भन्नुभयो ।
‘म धुलिखेल अस्पतालको सम्पर्कमा छु । आज पनि जान्छु र कुराकानी गरेर मितिको टुङ्गो लगाउँछु । स्थानीय तहसँग समन्वय गरेर हामी निर्णयमा पुग्छौँ ।’ सांसद तामाङले फेरि प्रतिबद्धता जनाउनुभयो ।
अघिल्लो दिन धुलिखेल अस्पतालका सामुदायिक तथा जनस्वास्थ्य निर्देशक डा विराज कर्माचार्यको मोबाइलमा म्यासेज गर्दै मैले लेखेको थिएँ, ‘डासाप, ठूलो पर्सेलमा स्वास्थ्य शिविर चलाउने कुराकानी हाम्रो कार्यक्रममा यसअघि भएको थियो । त्यसबारेमा भोलि बिहान थोरै छलफल गर्न पाए राम्रो सुनिने थियो ।’
कुराकानीका लागि उक्त समयमा आफूलाई अनुकूल नहुने तर शिविर चलाउनका लागि अब लागिपर्ने जानकारी उहाँले गराउनुभयो । जनप्रतिनिधिसँग यसबारेमा कुराकानी भइरहेको उहाँको भनाइ थियो ।
कार्यक्रम ‘जीवनरक्षा’ को छलफल नागरिकको जुनसुकै समस्या, आवश्यकता परिपूर्तिमा केन्द्रीत हुन्छ । घटना वा विषय प्रधान छलफल भए पनि त्यसलाई सबै भूगोल, वर्ग, जाति, समुदायका नागरिकलाई जोडेर सरकार, सरोकारवाला निकायका प्रतिनिधिसँग कुराकानी गरिन्छ ।
११ फागुन २०७८ को बिहान वडाअध्यक्ष (तत्कालीन) बिकुलाल तामाङको फोन आएपछि मलाई केही शङ्का र केही सुनिश्चितताको भान भयो ।
‘हामीले यही १८ गते ठूलो पर्सेलमा स्वास्थ्य शिविर चलाउने निर्णय गर्यौँ । म अहिले धुलिखेल अस्पतालबाट फोन गर्दैछु ।’ वडाअध्यक्ष तामाङले यसो भन्नुभयो ।
झन्डै एक महिनाको सन्नाटा चिर्दै अप्रत्याशित तर सुखद खबर उहाँले सुनाएपछि हामीले समाचार बनायौँ ।
शीर्षक थियो, ‘काभ्रेको ठूलो पर्सेलमा यही फागुन १८ मा स्वास्थ्य शिविर चल्ने’ त्यसपछि पनि वडाअध्यक्ष तामाङ, धुलिखेल अस्पतालको टिमसँग कसरी शिविर चलाउने, के के औषधि लिएर जानेलगायत विषयमा हाम्रो निरन्तर संवाद भइरह्यो ।
घाम राम्रोसँग छिप्पिइसकेको छैन ।
तर पनि मानसिहरू कोही तलबाट माथि उक्लिरहेका छन् । कोही माथिबाट झरिरहेका । डाक्टर, नर्स र व्यवस्थापनमा लागेकाहरू घरी भित्र त घरी बाहिर आउजाउ गरिरहेछन् ।
यो शिविर सञ्चालन हुने फागुन १८ गतेको बिहान हो ।
ठूलोपर्सेल स्वास्थ्य चौकी । १० बजेबाट सुरु गर्ने भनिए पनि तयारीमा केही ढिला हुँदा साढे ११ बजे आसपास मात्रै स्वास्थ्य शिविर सुरु भयो । बिहानीपख मध्यान्ह्, दिउँसोमा ढल्दैगर्दा मानसिहरू झन् आउन थालेका छन् ।
स्त्रीरोग जाँच तथा उपचार, पाठेघरको मुखको क्यान्सरको परीक्षण, हाडजोर्नीसम्बन्धी सेवा, फिजियोथेरापी सेवा र मधुमेहको गाउँघरमै जचाउन पाएपछि स्थानीयबासीको मुहारमा उत्साह र खुसी देखिन्छ ।
जचाउने लाइनमा युवायुवती, वयस्क तथा वृद्धवृद्धा बराबर देखिन्छन् ।
तेमाल गाउँपालिकाको वडा नम्बर ६ सहित ७ नम्बर वडाको चापाखोरी, ९ नम्बर वडाको मेचे सोपाटार, ४ नम्बर वडाको बोल्देफेदीचे, ३ नम्बरको श्रमथली, ५ नम्बरको नारायणस्थानलगायत गाउँबाट डेढदेखि ४ घण्टा हिँडेर स्थानीयबासी शिविरमा जचाउन आएका छन् ।
समापनमा बोल्ने हरेक वक्ताले ठूलो पर्सेलको स्वास्थ्य समस्या उठान र समाधानका लागि संयोजनकारी भूमिका खेलेकोमा सीआईएन र रेडियो रोशीलाई धन्यवाद दिए ।
शिविरमै भेटिनुभयो ठूलो पर्सेलका इन्द्रकुमारी पाण्डे र पञ्चमाया रसाइली ।
तीन महिनाअघि ठूलो पर्सेल पुग्दा सीआईएनसँग पञ्चमायाले आफ्नो र छोरीको स्वास्थ्य समस्या बारे सुनाउनु भएको थियो ।
‘तपाईँलाई मैले अघि नै चिनिसकेँ । गाउँघरमै जचाउन पाइयो । अब अलि बाँचिन्छ कि भन्ने लागेको छ ।’
यसो भन्दै गर्दा इन्द्रकुमारीको गला भासिएको जस्तो सुनियो । मैले आँखाहरूतिर नियालेँ, आँसुले भरिएका रहेछन् ।
साँझ पर्दै जाँदा मानिसहरूको भीड घट्दै गयो र सुनसान जस्तै भयो ठूलो पर्सेलको स्वाथ्यचौकी भवन ।
साँझ ५ बजेपछि शिविरको समापन गर्दै वडाअध्यक्ष तामाङले ३ सय १ जनाले स्वास्थ्य जाँच गराउनुका साथै निशुल्क औषधि र परामर्श सेवा लिएको जानकारी दिनुभयो ।
समापनमा बोल्ने हरेक वक्ताले ठूलो पर्सेलको स्वास्थ्य समस्या उठान र समाधानका लागि संयोजनकारी भूमिका खेलेकोमा नेतृत्वदायी भूमिका खेलेकोमा सीआईएन र समन्यका लागि रेडियो रोशीलाई धन्यवाद दिए ।
स्वास्थ्य शिविरको नेतृत्व गर्दै पुग्नुभएका धुलिखेल अस्पतालका स्त्रिरोग विभाग प्रमुख डा सुमनराज ताम्राकारले भन्नुभयो,'रेडियो कार्यक्रममा उठेको विषय, भएको छलफल र समन्वयका आधारमा शिविर बसेको पहिलो पटक थाहा पाएँ । आगामी दिनमा अरु स्थानको स्वास्थ्य समस्या समाधानका लागि पनि धुलिखेल अस्पताल समन्वय, सहकार्यका लागि तयार छ।'
यी सबै कुरा सुन्दै गर्दा मेरो मनमा लाग्यो, ‘रेडियोका समाचार, कार्यक्रमको ध्वनि, तरङ्गहरू हावामा मात्रै उड्दैनन्, मनमा गढ्छन् र निकास पनि निकाल्दा रहेछन् । हामीले कसरी उठान गर्छौँ, अगाडि बढाउँछौँ वा बीचमै छोडेर अर्को विषय खोज्न थाल्छौँ । फरक यसैले पार्ने रहेछ।’
यस बारेको भिडियो सामग्री हेर्नुहोस्ः
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९, १५:२७