“मानव बेचबिखन के हो ?” झट्ट कसैले सोधिहाल्यो भने हामी अधिकांशको दिमागमा आउने एउटै कुरा हो – “ललाइ, फकाइ भारतमा यौनकार्यका लागि बेचिनु ।”
आधिकारिक त होइन तर अनुभवको आधारमा मानव बेचबिखनको यो परिभाषा तार्किकचाहिँ पक्कै छ । सायद बाल्यकालमा देखेको विभिन्न टेलिशृङ्खलाहरूको प्रभाव पनि हुनसक्छ ।
अनवरत रूपमा यस सामाजिक मुद्दामा लागिरहँदा पनि यो परिभाषा आजको दिनसम्म पनि चरितार्थ नै छ । दशकौँदेखिको मानव बेचबिखनविरुद्धको संस्थागत प्रयासलाई हेर्ने हो भने यसलाई बुझ्ने दुईटा दृष्टिकोण छन् ।
पहिलो के भने यति धेरै गर्दागर्दै पनि किन वार्षिक रूपमा हुने मानव बेचबिखनको सङ्ख्या उस्तै छ ? अर्को दृष्टिकोणबाट हर्ने हो भने यति गर्दागर्दै त यस्तो छ भने नगरेको खण्डमा मानव बेचबिखनको स्वरूप झन् कति भयानक हुँदोे हो ?
जनमानसमा रहेको परिभाषाको सीमितताले गर्दा यस मुद्दाप्रतिको गम्भीरता अड्कल लगाउन भने गाह्रो छ ।
परिभाषा पनि समय सापेक्ष हुनु पर्छ भन्ने कुरा पनि यस मुद्दाले देखाउँछ ।
नेपालको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को परिभाषा अनुसार, ‘बेचबिखन’ भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुुन बमोजिम बाहेक मानिसको अङ्ग झिक्ने वा वेश्यगमन गर्ने अनि ‘ओसारपसार’ भन्नाले (क) किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, (ख) वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाइ, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाइ लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने कार्य गरेमा मानव ओसारपसार गरेको मानिन्छ ।
यो त भयो राष्ट्रिय परिभाषा ।
अन्तराष्ट्रिय रूपमा बहुराष्ट्रिय सङ्गठित अपराधविरुद्धको संयुक्त राष्ट्र सङ्घीय महासन्धी अन्तर्गत मानव बेचबिखन, खास गरी महिला र बालबालिकाको बेचविखन तथा ओसारपसारको रोकथाम, दमन तथा सजाय गर्ने सम्बन्धमा व्यवस्था भएको पुरक आलेख जसलाई ‘पालेर्मो प्रोटोकल’ पनि भनिन्छ ।
यस अनुसार मानव बेचबिखन तथा ओसारपसार भन्नाले “धम्की वा बल प्रयोग वा अन्य प्रकारको करकाप, अपहरण, धोका, अख्तियारको दुरुपयोग वा नाजुक अवस्थामा रहेको स्थिति वा भुक्तानी वा लाभको लेनदेनको माध्यमबाट यौन शोषणको प्रयोजनको लागि अर्को व्यक्ति उपर नियन्त्रण राख्ने व्यक्तिको सहमति हासिल गर्न व्यक्तिहरूको भर्ती, ओसारपसार, स्थानान्तरण, आश्रय दिने वा प्राप्त गर्ने काम” सम्झनुपर्छ ।
यस आलेखमा यी सबै परिभाषालाई अर्थ्याउनुुको उद्देश्य यसप्रतिको बुझाइलाई अझ फराकिलो बनाउनु हो । अब यसको व्यावहारिक पक्षलाई हेर्ने हो भने यो जनमानसमा रहेको समझदारी र बुझाइ भन्दा पृथक छ ।
समाजमा आएको परिवर्तन र बदलिँदो सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिको कारण मानव बेचबिखन तथा ओसारपसारको रुवरुप अझैँ पृथक बन्दै गएको छ ।
अन्योल, भ्रम र द्विविधावीच नै बेचबिखन फस्टाएको देखिन्छ । देश भित्रै फस्टाएको यसको सञ्जाल राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा यति गाँज्जिएको छ कि यसलाई सहजै तोड्न गाह्रो छ र अझैँ बेचबिखन भैसकेपछि फिर्ती गर्न कानुनी जटिलताहरु थुप्रै छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले सन् २०१९ मा निकालेको ‘ट्राफिकिङ्ग इन परसन्स २०१८’ रिपोर्टमा सन् २०१८ मा करिब ३५००० जना मानिसहरू बेचबिखनमा परेको अनुमान गरिएको छ ।
जसमध्ये १५ हजार महिला, १५ हजार पुरुष र ५ हजार बालबालिका रहेकाछन् ।
अब यस अर्थमा पनि जनमानसमा रहेको बालिका तथा महिलाहरूलाई यौन कार्यको लागि भारत लगेपछि मात्रै बेचबिखनमा परेको भन्ने परिभाषा र बुझाइलाई परिवर्तन गर्नैपर्छ भन्ने सङ्केत गर्छ ।
तर मानव बेचबिखनको चित्र यही परिभाषामा मात्रै सीमितचाहिँ हुँदैन ।
यसले हाम्रो बुझाइ स्पष्ट गर्न मद्दत त पक्कै गर्छ तर चुरो कुरा के हो भने, यो कसरी र कुन रूपमा हामी माझ अझै व्याप्त छ र यसलाई प्रतिकार कसरी गर्ने भन्ने बुुझ्न जरुरी छ ।
अझ विशेषगरी व्यक्तिगत रूपमा कसरी सजग र सतर्क रहने अनि सामाजिक र संस्थागत रूपमा कसरी यसलाई प्रतिकार गर्न मद्दत गर्ने भन्ने कुरा महत्वपूर्ण छ ।
दशकौँदेखिको अनवरत बेचबिखनविरुद्धको अभियानका क्रममा यसको स्वरुपमा भने भारी भिन्नता आएको छ ।
आन्तरिक रूपमा हुने बेचबिखन, सीमा पारी हुने बेचबिखन र भिसा लगाएर हुने बेचबिखनका कुराहरू अझै पनि हाम्रो लागि बेचविखन हो कि जस्तो लाग्ने तर ठम्याउन भने गाह्रो हुने गरेको छ ।
वैदेशिक रोजगारीको सन्दर्भमा यसको परिभाषा अझै स्पष्ट छैन ।
भन्नुुको मतलब यसमा यही नै होे भन्न सक्ने अवस्थामा कोही पनि छैनन् । आफ्नै छिमेक भित्र आर्थिक समृद्धतर्फ अगाडि बढेको सुखद कथा पनि छ भने कोही चरम शोषणमा परेर शारीरिक तथा मानिसिक अवस्था बिग्रेको सम्मका दृष्टान्तहरू छन् ।
यसै अन्योल, भ्रम र द्विविधावीच नै बेचबिखन फस्टाएको देखिन्छ । देश भित्रै फस्टाएको यसको सञ्जाल राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा यति गाँज्जिएको छ कि यसलाई सहजै तोड्न गाह्रो छ र अझैँ बेचबिखन भैसकेपछि फिर्ती गर्न कानुनी जटिलताहरु थुप्रै छन् ।
हामीसँग भएका “मानव बेचबिखनविरुद्धको स्थानीय समिति ‘मानव बेचबिखनविरुद्धको जिल्ला समिति’, ‘नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान व्यूरो’जस्ता प्रावधानहरूको प्रभावकारी कार्यान्वयन र उपलब्ध हटलाइन नम्बर ११७७ को प्रयोगका बारेमा अधिकभन्दा अधिक जानकारी गराउनुपर्छ ।
अन्तराष्ट्रिय श्रम सङ्गठनले जारी गरेको प्रतिवेदनमा बर्सेनि १ सय ५० अर्ब डलरको कारोबार हुने गरेको पाइएकोछ ।
तसर्थ रोकथाम नै यसको प्रमूख समाधान हो भन्नेमा दुई मत छैन ।
विज्ञानको यस युगमा सामाजिक सञ्जाल अर्को यस्तो माध्यम बनेको छ, जहाँँ बेचबिखन गर्ने मानिसले पहिलो कुरा गर्न वा सूचना सङ्कलन गर्न यसको प्रयोग गरेको पाइन्छ ।
यस अर्थमा हामीले सामुदायिकस्तरमा पनि सामाजिक सञ्जालको सही प्रयोग र यसबाट हुन सक्ने बेचबिखनको घटनाबारे व्यापक सचेतनाका कार्यक्रमहरु गर्न जरुरी छ ।
बेचबिखनको जोखिम हटाउनलाई बेचविखनका घटना कसरी पहिचान गर्ने, कसरी सुरक्षित हुने र कसरी खबर गर्ने भन्नु कुराहरू प्रकृयागत रूपमा जनमानसमा बुझाउन आवश्यक छ ।
बेचबिखनविरुद्धको खवरदारी हामी सबैको जिम्मेवारी पक्कै हो तर यसका साथै तीनै तहको सरकारी निकायको जिम्मेवारी, सजगता र सतर्कताका साथै कानुुन र नीतिहरूको प्रभावकारी कायान्वयनको कुरा उत्तिकै महत्वपूर्ण छ ।
हामीसँग भएका “मानव बेचबिखनविरुद्धको स्थानीय समिति ‘मानव बेचबिखनविरुद्धको जिल्ला समिति’, ‘नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान व्यूरो’जस्ता प्रावधानहरूको प्रभावकारी कार्यान्वयन र उपलब्ध हटलाइन नम्बर ११७७ को प्रयोगका बारेमा अधिकभन्दा अधिक जानकारी गराउनुपर्छ ।
यी सबै प्रयासहरूले मात्र यसपालीकोे सोह्रौँ राष्ट्रिय दिवसको नारा “तीनै तहको सरकारः मानव बेचबिखनविरुद्धको सरोकार”लाई सार्थक र अर्थपूर्ण बनाउनेछन् ।
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९, ११:३५