तोलाकान्त बगाले, रेडियो आँधीखोला
स्याङजा । स्याङ्जाको वालिङमा असोजको दोस्रो साता ‘लियो मिनी म्याराथुन’ हुने भएको छ ।
लियो क्लब अफ वालिङ सिटीको आयोजनामा असोज ८ गते वालिङमा म्याराथुन प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
खेलकुदलाई सहर केन्द्रीत मात्र नगरी यसको संस्थागत विकासका लागि तल्लो तहसम्म पुर्याइ नयाँ प्रतिभाहरूको खोजी गर्ने, खेलकुदसँगै रचनात्मक कार्यहरूमा युवाहरूलाई आकर्षित गर्दै निरन्तरता दिने लक्ष्यसहित प्रतियोगिताको आयोजना गरिएको लियो क्लब अफ ३२५ एम नेपालका डिष्ट्रिक सेक्रेटरी दिक्षान्तप्रताप खाँणले जानकारी दिनुभयो ।
स्याङ्जाको भीरकोट नगरपालिकाको प्रशासकीय कार्यालयबाट सुरु हुने प्रतियोगिता वालिङ नगरपालिकाको प्रशासकीय कार्यालयसम्म आएर टुङ्गिने छ ।
सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग तथा भित्री सडकहरूको प्रयोग गरी प्रतियोगिता सञ्चालन हुने खाँणले बताउनुभयो ।
दुई पालिका जोड्ने गरी तयार पारिएको धावनमार्ग १९.२ किलोमिटर दुरी रहने छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने धावकले क्रमशः रु. ३०, २०, १० र ४ हजार नगदसहित शिल्ड प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९, ०९:००