छलफलमा भाग लिदै नेपाली काँग्रेसका नेता गगन थापाले सरकारले नीति तथा कार्यक्रमका नाममा नागरिकलाइ झुक्याइरहेको बताउनुभयो ।
काठमाडौं । सङ्घीय संसदमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी छ । छलफलमा भाग लिएका सत्ता पक्षका सांसदहरुले नीति तथा कार्यक्रमलाइ समर्थन गरेका छन् भने विपक्षी दलका सांसदहरुले भने नीति तथा कार्यक्रमको बिरोध गर्दै आफ्नो भनाइ राखिरहेका छन् ।
छलफलमा भाग लिदै नेपाली काँग्रेसका नेता गगन थापाले सरकारले नीति तथा कार्यक्रमका नाममा नागरिकलाइ झुक्याइरहेको बताउनुभयो । खर्च घटाउनु भन्दा सरकार दीर्घकालिन खर्च बढाउने कार्यक्रम थप गर्नमा मात्रै लागेको नेता थापाको आरोप छ । नेता थापाले भन्नुभयो, ‘सरकारको नीति तथा कार्यक्रममा कहिं नीति छ कार्यक्रम छैन, कहिं कार्यक्रम छ, नीति छैन ।’ नीति तथा कार्यक्रम अलमलिएको निबन्ध जस्तो मात्रै भएको नेता थापाको टिप्पणी छ ।
नेकपाका नेता बिष्णु पौडेलले चालु आर्थिक वर्षलाई सरकारले सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्ने गरि आधार वर्षको रुपमा तयार पारेको तथा आगामी वर्षलाई इतिहासकै तिब्र आर्थिक विकासको वर्षको रुपमा विकास गर्न खोजेको र सोही अनुसार नीति तथा कार्यक्रम आएको बताउनुभयो ।
आर्थिक बृद्धिदर दोहोरो अंकमा पुर्याउने, समृद्धीका लागि योगदान पु¥याउने क्षेत्रगत बिषयलाइ पनि अगाडी सारेको तथ्य प्रस्तुत गर्दै नेता पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारीको बिषयलाई पनि प्रथामिकतामा राखेकाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राम्रो रहेको दाबी गर्नुभयो ।
नीति तथा कार्यक्रम माथिको महत्वपूर्ण छलफलका क्रममा संसदका कुर्सिहरु भने खाली, खाली देखिएका छन् ।
अर्को प्रसंगमा नेता पौडेलले ललिलता निवासको जग्गाका बिषयमा छानबिन गरि दोषीलाइ कडा कारवाही होस् भन्ने चाहेको बताउनुभयो । आफू दोषी भएमा आफू जुन सुकै दण्ड भोग्न तयार रहेको पनि उहाँले बताउनुभयो ।
छलफलमा भाग लिदै सोमप्रसाद पाण्डेले चिनौ आफ्नो माटो बनाउ आफ्नो देश भन्ने नाराले कति वर्षमा नेपाल कहाँ पुर्याउने भन्ने लक्ष्य निर्धारण गर्ने भन्दै यसमा कसैले बिरोध गर्नु नपर्ने धारणा राख्नुभयो । २०७९ साल सम्म बिकासशिल देशमा पुग्ने र २०८७ साल सम्म दिगो बिकास हाँसिल गरिसक्ने र वि.स २१ सय सम्ममा समृद्ध मुलुक बनाउने सोच कहाँ नराम्रो छ ? भन्दै पाण्डेले प्रतिपक्षिलाइ प्रश्न गर्नुभयो ।
बारीका पाटा खेतका गरा, हुन्छन् हराभरा भन्ने नाराले कृषि र उत्पादनलाइ जोड दिएको भन्दै उहाँले यो देशको खानी र पानीलाइ उपयोग गरे देश समृद्ध हुने भएकाले यसमा साथ दिन सबैलाइ आग्रह गर्नुभयो ।
काँग्रेस सांसद चित्रलेखा यादबले नीति तथा कार्यक्रम छरिएर आएको भन्दै यसलाइ कार्यान्वयन गर्न सजिलो नहुने बताउनुभयो । यस अगाडीका नीति तथा कार्यक्रम नै पूरा हुन नसकेको समयमा आएको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौति रहेको बताउनुभयो । सरकारको नीति तथा कार्यक्रममा भन्दा पनि नियतमा खोट रहेको नेता यादबको तर्क थियो ।
यस्तै, काँग्रेस सांसद मीना पाण्डेले नीति तथा कार्यक्रम होइन सरकारले सम्बोधन मात्रै गरेको बताउँदै प्रतिपक्षिसंग कुनै छलफल नगरि ल्याएको नीति तथा कार्यक्रम राम्रो नआएको बताउनुभयो ।
सांसदहरुले पालै, पालो आफ्नो बिचार राखिरहेका छन् ।
नीति तथा कार्यक्रम माथिको महत्वपूर्ण छलफलका क्रममा संसदका कुर्सिहरु भने खाली, खाली देखिएका छन् । सांसदहरु आफ्नो बिचार राख्दै बाहिरिदै गरेकाले पनि संसद भित्र बस्ने सांसदहरु कम रहेका छन् ।
। नीति तथा कार्यक्रम माथीको छलफल भोली सम्म चल्ने छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६, १५:३७