काटमाडौँ । एउटै क्षेत्रमा धेरै राजनीतिक दलको दाबी परेपछि सत्ता गठबन्धनले सीट बाँडफाँटको टुङ्गो हिजो दिनभरको छलफलबाट पनि लागाउन सकेन ।
बिहान १० बजेदेखि नै शीर्ष नेताहरू बैठकमा बसेका थिए ।
एउटै निर्वाचन क्षेत्रमा गठबन्धनका दुईतीनवटा राजनीतिक दलको दाबी परेपछि कुरा मिल्न नसकेको बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सबै दलले आ–आफ्नो अडान कायमै राखेपछि सहमति हुन नसकेको उहाँले बताउनुभयो ।
९० सीटमा सहमति भए पनि दोहोरो–तेहेरो दाबी भएका बाँकी ७५ सीटमा भागबण्डा लगाउन सरकारमा रहेका दलहरूलाई समस्या भएको नेताहरूको भनाइ छ ।
कतिपय स्थानमा चारवटा दलले दावी गरेका कारण पनि कुरा मिल्न नसकेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलका कार्यदलका सदस्यहरू छलफलमा बस्दै आएका छन् ।
नेपाली काँग्रेसमा नेता शेखर कोइराला पक्षले १ सय सीटभन्दा तल नझर्न नेतृत्वलाई दबाब दिइरहेको छ भने नेकपा माओवादी केन्द्रले ६० र एकीकृत समाजवादीले ४० सिटमा दाबी गरेका छन् ।
जसपाले ३२ सिट पाउनुपर्ने अडान राख्दै आएको कार्यदलका एक सदस्यले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९, ०७:४६