काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७÷०७८ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिवेदन पेश गर्ने भनिए पनि उहाँको तर्फबाट सरकारका कुनै एक मन्त्रीले पेस गर्ने छन् ।
राष्ट्रिय सभाको बैठक पनि आज बस्दै छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकको सुरूमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुनेछ ।
त्यसपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधायन समितिको प्रतिदेवनसहित पशु तथा पशुसेवा परिषद् विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
छलफल सकिएपछि विधयेक आजै पारित गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९, ०८:१७