काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आउनुभएका चीनका राष्ट्रिय जनकँग्रेस स्थायी समिति अध्यक्ष ली चान्शु आज स्वदेश फर्कनुभएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा लीलाई बिदाइ गर्नुभयो ।
ली चान्शु यही भदौ २७ गते अपरान्ह नेपाल भ्रमणमा आउनु भएको थियो ।
नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, परराष्ट्र मन्त्री नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो ।
सभामुख सापकोटा र लीबीच प्रतिनिधिमण्डल स्तरमै औपचारिक वार्ता भएको थियो । वार्तापछि नेपालको सङ्घीय संसदको प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कँग्रेस) बीच अन्तरसंसदीय सहयोगसम्बन्धी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९, ११:१६