काठमाडौँ । प्रदेशस १ को प्रदेशसभाको सोमबार (हिजो) बसेको बैठकले मोरङको विराटनगरलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
९३ सदस्यीय प्रदेशसभामा ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे भने विपक्षमा कुनै मत परेन । बैठकमा ६ जना सांसद् अनुपस्थित रहेका थिए ।
विपक्षी नेपाली काँग्रेसले समेत आफ्नो प्रस्ताव फिर्ता लिएर नेकपाको प्रस्तावलाई समर्थन जनाएको थियो ।
प्रदेश नं १ को स्थायी राजधानी विराटनगर भए पनि कार्यपालिका र व्यवस्थापिकाका लागि बन्ने नयाँ संरचना सुनसरीको इटहरी, सुन्दरहरैंचा र विराटनगर आसपास क्षेत्रमा बन्ने प्रस्तावको कैफियतमा उल्लेख छ ।
सबै कार्यालय बिराटनगरमै हुनुपर्ने भन्दै हिजो विराटनगरमा हड्तालसमेत भएको थियो ।
मुख्यमन्त्री शेरधन राईले माग सम्बोधन गर्ने आश्वासन दिएपछि हड्ताल फिर्ता भयो । प्रदेशसभा सदस्य केदार कार्कीले कार्यपालिका तथा व्यवस्थापिकाका नयाँ संरचना एकै ठाउँमा बन्नुपर्ने बताउनुभयो ।
प्रदेशको नाम तय नगरी सोमबारदेखि प्रदेश अधिवेशन अन्त्य भएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६, ०७:२४