काठमाडौँ । सामुदायिक सूचना नेटवर्क (सीआईएन)को सम्पादकमा लक्ष्मण कार्की नियुक्त हुनुभएको छ ।
सीआईएनको सञ्चालक संस्था, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले कार्कीलाई सम्पादकमा नियुक्त गरेको हो ।
आज अकोराब तथा सीआईएनको कार्यालय चाकुपाट ललितपुरमा आयोजित कार्यक्रममा अकोराबका अध्यक्ष अर्जुन गिरी, उपाध्यक्ष निमेष कर्ण र भुवन सिंह, महासचिव किशोरजङ्ग थापा, कार्यकारी निर्देशक बालकृष्ण पोखरेल, सीआईएनका प्रमुख दीपक आचार्यलगायतले कार्कीलाई स्वागत गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष गिरीले नयाँ सम्पादक नियुक्तिपछि सीआईएन थप गतिशील, प्रभावकारी र व्यावसायिक रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
नवनियुक्त सम्पादक कार्कीले लोकप्रिय संस्थामा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै सीआइएनलाई बदलिँदो परिवेशअनुसार अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न कार्की यसअघि, रेडियो कान्तिपुर, उज्यालो रेडियो नेटवर्कलगायत सञ्चार गृहमा विभिन्न जिम्मेवारीमा रहनुभएको थियो ।
अकोराबले सीआईएनमा कार्यरत लिलप्रकाश चन्दलाई कार्यक्रम सम्पादकमा बढुवा गरेको छ ।
अकोराब/सीआईएनको वरिष्ठ कार्यक्रम अधिकृतमा सुशीला शर्मा नियुक्त हुनुभएको छ ।
शर्मासँग यसअघि विभिन्न गैरसरकारी संस्थामा विभिन्न जिम्मेवारी निर्वाह गरेको अनुभव छ । स्वागत कार्यक्रममा उहाँले सीआईएन तथा अकोराबको सफलताको लागि भरपुर योगदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९, १६:०६